सिसाको बोतलबाट यसरी बनाइन्छ माला

724

दाङमा सिसाको बोतलबाट माला बनाइँदै आएको छ।

दाङ देउखुरीको गढवा गाउँपालिकामा मदिरा प्रयोगपछि फालेका बोतलबाट विभिन्न गरगहनाहरू तयार पारिँदै आएको हो।

मुक्त कमलहरीहरूले वियर तथा अन्य विभिन्न खाले मदिराका बोतलहरूबाट घाँटी, कान र हातमा लगाउने विभिन्न आकर्षक गरगहना निर्माण गर्दै आएका छन्। उनीहरूले निर्माण गरेका गरगहाना हालसम्म क्यानडामा मात्रै विक्री वितरण हुँदै आएका छन्।

गढवा गाउँपालिका वडा नं. ५ निवासी मुक्त कमलहरी शारदा चौधरीले मुक्त कमलहरीको क्षेत्रमा काम गर्दै आएको गढवा गाउँपालिका वडा नं. ५ स्थित क्रियटिङ पोसिविलिटीज नेपालको सहयोगले आफूहरूले मदिरा सेवनपछि फालिएका उपयोगहिन बोतलबाट विभिन्न गरगहना बनाउँदै आएको बताइन्।

क्रियटिङ पोसिविलिटीज नेपालले चारजना महिलाहरूलाई सिसाको बोतलबाट गरगहना कसरी बनाउने? भन्ने बारेमा काठमाडौंमा लगेर ४० दिने तालिम दिएपछि आफूहरूले बोतलबाट गरगहना बनाउन जानेको चौधरीले सेतोपाटीलाई बताइन्।

गढवा गाउँपालिका वडा नं. ६ गढवा निवासी असारती कुमालले आफूहरूले विगत तीन महिनादेखि सबैले उपयोगहिन देख्ने सिसाको बोतलबाट बिट्स, माला,  झुम्का, हातमा लगाउने बाला बनाउँदै आइरहेको जानकारी दिइन्। ‘हामीले उत्पादन गरेका सबै गरगहाना हाल क्यानडा जाने गरेको छ, एउटा माला कतिमा बिक्छ हामीलाई थाहा छैन,’ कुमालले भनिन्।