मरिचको तस्करी र भारुको कालोबजारी

637

 बीरगन्ज माघ १४  सिमावर्ती क्षेत्रमा मरिचको तस्करीसंग जोडिएर भारतीय मुद्राको अबैध सटही गर्ने दोहरो धन्दाको संजाल यतिखेर मौलाएको छ । कुनै बेला नेपाललाई चाहिनेभन्दा बढी सुपारी आयात गरी भारततर्फ अबैध निकासी गर्ने संजाल अब मरिच तस्करीतिर मोडिएको छ । अमेरिकी डलरमा भुक्तानी गरेर तेस्रो मुलुकबाट आयात गरिएको मरिच अबैध रुपमा भारत निकासी गर्दा त्यसबाट आउने भारतीय मुद्रा ल्याई त्यसको कालोबारी पनि संगसंगै भएपछि यो संजाल बढी संगठित किसिमको हुन पुगेको छ ।  मरिचको अबैध कारोबार बढेकै कारण यसको आयातमा पनि अप्रत्यासित किसिमले भारी बृद्धी भएको छ । वीरगन्जस्थित २ वटा भन्सार नाकाको तथ्यांकले यहाँ भएर २०७४ बैशाखदेखी पुससम्मको ९ महिनामा पोहोरको यसै अवधीको तुलनामा सावा ४ गुणा बढी ‘कालो मरिच’ आयात भएको देखाएको छ । यि दुबै भन्सार नाका गरेर पोहोर बैशाखदेखी पुससम्म ११ लाख ४२ हजार ७ सय ५६ किलो मरिच आयात भएको थियो भने यस पटक सोही अवधीमा ४८ लाख ५३ हजार २ सय २८ केजी मरिच आयात भएको छ । यसपाली आयात भएको मरिच पोहोरको तुलनामा ४२४.६९ प्रतिशत अर्थात ३ सय २४.६९ प्रतिशत बढी हो । मुख्य रुपमा खाने मसलाको रुपमा प्रयोग गरिने दैनिक उपभोग्य बस्तु हो मरिच । यस्ता बस्तुको माग र आपुर्तीमा भाउ र खपतको सन्तुलन अनुसार १० देखी २० प्रतिशत घट बढ समान्य मानिन्छ । यसपाली भने मरिच आयातमा असमान्य बृद्धी देखिएको हो । ‘भारतको मसला बजारमा अहिले मरिचको मुल्य उच्च छ, घरेलु कृषी उत्पादनको बजारलाई बढावा दिन भारत सरकारले बाहिरबाट मसला आयात गर्दा त्यसमा लाग्ने करको उच्च राख्ने गरेको छ,’ सिमावर्ती भारतीय बजार रक्सोलका एक जाना ब्यपारीले भने, ‘नेपालमा बिदेशबाट आउने मरिचको मुल्य सस्तो पर्ने भएपछि स्थानीय बजारको लागि ल्याउने भन्दा, यहाँबाट बिभिन्न सहरहरुमा पठाउनका लागि अहिले सिमावर्ती क्षेत्रमा यसको कारोबार बढेको हो ।’ नेपालमा तेस्रो मुलुकबाट आयातित मरिचको भाउ भारतीय मरिचको तुलनामा प्रतिकिलो ३ देखी ४ सय रुपैया कम पर्न थालेपछि भारततर्फको अबैध निर्यात पनि बढेको हो । नेपालमा तेस्रो मुलुकबाट आयात हुने मरिच बजारमा प्रतिकिलो साढे ७ सयदेखी ८ सय रुपैयाको भाउमा उपलब्ध छ । त्यही मरिच सिमापारी भारतमा एक हजारदेखी १ हजार २ यस रुपैया (नेपाली) प्रतिकिलोको भाउमा किनबेंच भइरहेको छ । सिमा पारी लगिएको मरिचको भुक्तानी भने भारतीय मुद्रामा हुने गरेको छ । मरिचको भाउमा रहेको अन्तर यसको कारोबार बढ्नुको एउटा कारण हो भने भारतीय रुपैया अर्को आकर्षण हो । एक क्वीन्टल मरिच वारीबाट पारी पु¥याउदा ३० देखी ४० हजार रुपैया नाफा आउने गरेको छ । त्यसका कारोबारीले भरिया र दुबैतिरका सिमावर्ती सूरक्षा इकाइहरुको लागि खर्च छुट्याउदा पनि क्विन्टलमा २० देखी २५ हजार रुपैया नाफा यसमा आउने भएपछि त्यसमा साझेदार रहेका दुबै तस्करहरुका लागि पिरो मरिच गुलियो भएको छ । भारतीय कारोबारीले मरिचको भुक्तानी नेपाली पक्षलाई गर्दा भारतीय रुपैयामा गर्ने गरेका छन् । भारतीय मुद्रा किनबेंच अहिले सिमावर्ती क्षेत्रमा ‘सोक्कड’ (नाफा सुनिश्चित भएको) कारोबारको रुपमा परिचित छ । भारतीय रुपैयाको कालोबजारी गर्ने गिरोहहरुले प्रति सय भारतीय मुद्रमा साढे २ प्रतिशत  (नेपाली ४ रुपैया) दिएर हाथोहात किन्ने गरेका छन् । उनीहरुले त्यो भारतीय मुद्रामा आफ्नो नाफा थपेर बेंच्ने गरेका छन् । भारतीय मुद्राको उपलब्धता भने सिमावर्ती क्षेत्रमा सधै अपुग रह्ने भएपछि मरिच तस्करीको अर्को पाटोको रुपमा भारतीय मुद्रको कालोबजारीले सहजै ठाउँ बनाउन पाएको जानकारहरुको विश्लेषण छ । मरिचको तस्करीसंगै भारतीय मुद्रको कालाबजारीको यो धन्दाले तिब्रता पाएको छ । सुक्खा बन्दरगाह र वीरगन्ज भन्सार भएर भियतनाम, श्रीलंका, इण्डोनेशिया, ब्राजिल, साउदी अरेयिबा, थाइल्याण्ड, मलेशिया र अमेरिकाबाट मरिच आयात भएको अभिलेख छ । ‘सबभन्दा बढी भियतनामबाट आउने हो, मरिच त्यस बाहेक अरु देशबाट पनि आउने गरेको छ,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेबन्त्क पोखरेलले भने, ‘बैध आयात जो कोहीले पनि गर्न पाइ हाल्यो, नेपाल भित्रिएपछि कहाँ खपत हुदैछ हामीसंग जानकारी हुदैन ।’ वीरगन्ज भन्सार भएर यो बर्ष बैशाखदेखी पुससम्म ३१ लाख ८९ हजार ५ सय ९३ किलो मरिच आएको छ भने पोहोर यसै अवधीमा ७ लाख ९२ हजार ९ सय ३१ किलो मरिच मात्र भित्रिएको थियो । त्यसतै यो बर्ष सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट १६ लाख ६३ हजार ६ सय ३५ किलो मरिच यसपाली उक्त अवधीमा आयात भएको छ भने पोहोर त्यहाँबाट त्यसतै अवधीमा ३ लाख ४९ हजार ८ सय २५ किलो मरिच मात्र आएको थियो । ‘मरिच सिमावर्ती क्षेत्रमा लगेर लुकीचोरी भारततिर निकासी भइरहेको हामीलाई सूचना आइरहेको थियो, त्यस कारण हामीले निगरानी बढाएका छौं,’ नेपाल प्रहरी नायब उपरीक्षक भुबनेश्वर साहले भने, ‘अवैधरुपमा भारत लैजाँदै गरेको दुई सय बोरा कालो मरिचसहित दुईवटा पिकअप भ्यान र त्यसका २ जना चालकलाई हामीले थत बुधवार बाराको आदर्श कोतवाल गाउँपालिकास्थित हुलाकी सडकबाट नियन्त्रणमा लिएर राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयामा बुझाएका छौं ।’ साह बारा प्रहरी कार्यालयका प्रवक्ता हुन् । यता पर्सामा भने प्रहरीले मरिच तस्करीमा कडाई गरेको दावी गरेको छ । ‘मरिच गइरहेको सूनेपछि हामीले कडाई गरेका छौं, लुकीचोरी छिटफुट गएको छ भने भन्न सकिन्न,’ पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले भने, ‘त्यसतै छिटफुटमा १०÷१० किलोको पोकामा साइकलमा लैजादै गरेको ४० किलो मरिच समातिएको पनि छ, समात्ने प्रहरी हवल्दार पुरस्कृत पनि भएको छ ।’ पर्सा, बारा र रौतहटका ग्रामिण नाका यतिखेर ‘मरिच मार्ग’ बनेका छन् । मोतिहारी, बेंतियाँ, मुज्फरपुर, हाजिपुर र पटनाजस्तो ठाउँमा उच्च माँग रहेको ब्यपारी बताउछन् । स्रोतका अनुसार खास गरी मुज्फरपुरसम्म मरिच पु¥याइएपछि त्यस अगाडीको किनबेंच असहज छैन् । पश्चिम बंगालको कोलकता बजारसंग सिधा सम्पर्क भएको मुजफरपुरबाट यताको मरिचलाई ‘भारतीय’ भनेर अरु सहरमा पु¥याउन सहज छ । यसरी यतिखेर ‘बहुराष्ट्रस्तरीय मरिच तस्करी संजाल’ खडा हुन भएको ब्यपारीहरु बताउछन् । मरिच आयात २०७३ बैशाखदेखी पुससम्म २०७४बैशाखदेखी पुससम्मवीरगन्ज भन्सार भएर ७९२९३१ किलो ३१८९५९३ किलोसुक्खा बन्दरगा भन्सार भएर ३४९८२५ किलो १६७३६३५ किलोवीरगन्जको दुबै भन्सार गरेर ११४२७५६ किलो जम्मा ४८५३२२८ किलो जम्मास्रोत सम्बन्धीत भन्सार कार्यालय ।