जसले लकडाउनमै गरे डेढ करोडभन्दा बढीको कारोबार

102

काठमाडौं, असार १० झन्डै तीन महिनाको कोरोना लकडाउनले धेरैलाई व्यवसाय चलाउन हम्मे परेको छ, ज्ञानेन्द्र खड्का भने यही बेला बजारमा चिनिएका छन्।
उनले त्यस्तो के गरे, जसले लकडाउनबीच पनि उनको व्यवसाय सुस्ताएन, बरू अझ फस्टायो?
खड्काले यो फड्को मारेका हुन्, आफ्नो इ-कमर्स कम्पनीबाट। उनले गत वर्ष नै उक्त कम्पनी दर्ता गरेर सफ्टवेर निर्माणको काम अघि बढाएका थिए। सन् २०२० अप्रिलबाट औपचारिक रूपले कारोबार थाल्ने योजना थियो, त्यही बेला लकडाउन भइदियो।
‘अरू सबै व्यवसाय बन्द गरेर बसे,’ खड्काले भने, ‘मैले त्यसैलाई अवसर बनाएर अप्रिल पहिलो साताबाटै काम सुरू गरेँ।’
लकडाउन सुरू हुनासाथ बजारमा खाद्यान्न र तरकारी कसरी डेलिभरी गर्ने निश्चित भइसकेको थिएन। बिहान-बेलुकी थोरै समय पसलहरू त खुल्थे, तर भिडभाडमा किनमेल गर्न डर थियो। खड्काले यही मौकामा ‘ग्यापु अनलाइन डटकम’ बाट घर-घरमै खाद्यान्न तथा तरकारी डेलिभरी गरे।
उनलाई दुइटा चुनौती थियो- सामान दिने बिक्रेता र डेलिभरी गर्ने गाडी।
उनले रातारात ठूल्ठूला बिक्रेताहरूसँग कुरा गरे। ती सबैले चाहिएजति सामान दिने प्रतिबद्धता जनाए। त्यसपछि एउटा होटलमा चारवटा कोठा भाडा लिएर १२ जना कर्मचारीबाट धमाधम अर्डर लिन थाले।
अर्डरबमोजिम सामान डेलिभरी गर्न गाडी भने पाइएन। उनले आफ्नै र निकट साथीहरूको गाडी मागेर काम अघि बढाए। विद्युतीय भुक्तानीका लागि आइएमई, खल्ती तथा प्रभु र हिमालयन बैंकसँग सम्झौता गरे।
‘घरमा सबैसँग क्यास (नगद) नहोला भनेर हामी कार्डबाट भुक्तानी गर्न मिल्ने उपकरण सँगै लिएर जान्थ्यौं,’ उनले भने।
लकडाउन बेला सामान अर्डर लिँदै ग्यापु टिम।
उनीहरू बिहान १० देखि साँझ ७ बजेसम्म अर्डर लिन्थे। सुरूमा खाद्यान्न, तरकारी र फलफूलको अर्डर लिए। यी सामान कालिमाटी, नक्साल र सतुंगलबाट ल्याउँथे। प्याकिङ गर्न कम्पनीसँग प्लास्टिक थिएन। क्यारेटमै हालेर घर-घर पुर्‍याउँथे।
लकडाउन खुकुलो भएपछि भने सामान संकलन गरेर बिहान ९ बजेसम्म कार्यालयमा ल्याइने र अर्डरअनुसार प्याकिङ गरेर डेलिभरी गरिने उनले बताए।
‘हामीले लकडाउनमा दैनिक ३०० देखि ५०० सम्म डेलिभरी गर्थ्यौं। ग्राहकको ठाउँ पत्ता लगाउन भने धेरै समस्या भयो,’ उनले भने।
उनका अनुसार अहिले कम्पनीले ६२ वटा बिक्रेता, केही विदेशी कम्पनी तथा सेल्सबेरीसँग सम्झौता गरेको छ भने चार हजारभन्दा बढी थरीका सामान पाइन्छन्। डेलिभरीका लागि सातवटा गाडी भइसके। कुनै पनि बैंकका भिसा, मास्टर, डेबिट कार्ड र मोबाइल बैंकिङ तथा विद्युतीय भुक्तानी प्रणालीबाट पैसा तिर्न सकिन्छ।
जेठ अन्तिमसम्म १३ हजारभन्दा बढी डेलिभरी र डेढ करोड रूपैयाँभन्दा बढीको कारोबार गरेको उनले जानकारी दिए।
‘यो तीन महिनामा राम्रो सफलता पाएँ। लकडाउनमा त यत्तिको भयो, अरू बेला असफल हुन्छ भन्ने लाग्दैन,’ उनले भने, ‘इ-कमर्स प्लेटफर्ममा दुई-चारवटा कम्पनीबीच मात्र प्रतिस्पर्धा छ। यो नयाँ कम्पनीका लागि अवसर हो।’
ग्यापुमा १ करोडभन्दा बढी लगानी भएको उनको दाबी छ। कम्पनीले थानकोटदेखि बनेपासम्म सेवा दिइरहेको छ। अर्को साताबाट पोखरा, बुटवल, चितवन र हेटौंडासम्म विस्तार गर्ने योजना छ। लकडाउन पूरै खुलेपछि १ सय २० वटा मुख्य सहरमा डेलिभरी गर्ने योजना बनाएको उनले बताए।
अहिले सामानको अर्डर ‘ग्यापु डटकम’ बाट मात्र गर्न सकिन्छ। दुई साताभित्र मोबाइल एप सार्वजनिक गर्ने तयारी छ। विदेश बस्नेले पनि किन्न सक्ने गरी सेवा विस्तार गर्ने योजना रहेको उनले सुनाए।
‘हामी विदेशी अनलाइनबाट सामान किन्न सक्छौं भने नेपाली अनलाइनबाट विदेशमा सामान किन पठाउन सक्दैनौं?’ उनले भने, ‘यो योजनामार्फत् नेपालमा उत्पादित सामान अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न हाम्रो योजना छ। अर्डर लिने साइटमा नेपाली ब्रान्ड भनेर छुट्टै राख्नेछौं। केही नेपाली ब्रान्डसँग सम्झौता गर्दै छौं।’
ज्ञानेन्द्रले आफ्नो कम्पनीको नाम ‘ग्यापु’ राख्ने भनेर चार वर्षअघि नै जुराएका थिए। ‘मेरो नाम ज्ञानेन्द्र, श्रीमतीको पूजा। हामी दुइटाको पहिलो अक्षर जोडेर ग्यापु राखेको,’ उनले भने।
उनलाई ग्यापुमा विज्ञान श्रेष्ठले साथ दिएका छन्। विभिन्न कलेजमा उनको लगानी छ। ‘अमेरिका हुँदै ४-५ वर्षअघि एक जना साथीमार्फत् हाम्रो परिचय भयो,’ खड्काले भने, ‘उहाँले म नेपाल आएको थाहा पाउनुभएछ। त्यसपछि हामी बिजनेसमा सँगै जोडियौं।’
लकडाउन खुलेपछि अमेरिका फर्कनुपर्ने भएकाले यी व्यवसाय हेर्न उनी नेपालमै बस्नेको साथ खोज्दै थिए, ‘ढुङ्गा खोज्दा देउतै भेट्टाएजस्तो भयो।’
स्मार्टफोन र इन्टरनेट पहुँच बढ्दै गएकाले इ-कमर्सको भविष्य उनले राम्रो देखेका छन्। ‘गत वर्ष २५० करोडको इ-कमर्स बजार थियो। लकडाउनमा अझ बढेको छ,’ उनले भने, ‘हाम्रो अध्ययनअनुसार ९० प्रतिशत व्यक्ति अनलाइनमा पहिलोपटक सामान किन्ने छन्। अझै पनि कसरी सामान अर्डर गर्ने भन्ने धेरैलाई थाहा छैन।’
धेरैलाई इ-कमर्समा गुणस्तरीय सामान पाइँदैन र महँगो पर्छ भन्ने भ्रम पनि रहेको उनले सुनाए।
यसको जवाफमा उनी भन्छन्, ‘गुणस्तरीय सामानका लागि हामी सयौं बिक्रेतासँग डिल गर्छौं। चित्तबुझ्दो नभएसम्म अनलाइन प्लेटफार्ममा स्थान दिँदैनौं। यसले बजारभन्दा सस्तो पनि पर्छ।’
पछिल्लो समय नेपालमा इ-कमर्स व्यापार बढे पनि कानुनी प्रावधान बलियो नभएको उनको भनाइ छ। विश्वका कुनै पनि देशको विकासमा स्टार्ट-अप कम्पनीको ठूलो हात भएकाले सरकारले त्यस्ता कम्पनीलाई विशेष ग्राह्यता दिनुपर्ने उनी बताउँछन्।
‘स्टार्ट-अप कम्पनीले नयाँ प्रविधि र नयाँ अवधारणा भित्र्याउँछ,’ उनले भने, ‘उनीहरूको आइडियामा लगानी गर्ने प्रावधान सरकारले ल्याइदिनुपर्छ।’

इ-कमर्सबाट हुने कारोबार प्रविधिमा आधारित भएकाले कालोबजारीको सम्भावना कम हुने उनको तर्क छ। यसले अर्थतन्त्रमा टेवा पुग्नुका साथै रोजगारको अवसर बढ्ने उनी सुनाउँछन्। ‘लकडाउनमा कति कम्पनीले कर्मचारी कटौती गरे भन्ने सुनियो, तर हामीले यही बेला २५ जनालाई रोजगारी दिएका छौं,’ उनले भने।

खड्काको इम्याजिन टिभी, पपर आर्टिफिसियल, बैंकर, कर्म एप लगायत २६ वटा कम्पनीमा लगानी छ।
२०३८ सालमा जन्मिएका खड्का सानैदेखि व्यापारमा रूचि राख्थे। उनको घर चितवनको शक्तिखोर हो। अहिले अमेरिका बस्छन्।
उनले १७ वर्षको उमेरमा घरबाट अलिअलि पैसा मागेर कम्प्युटर इन्स्टिच्युट खोलेका थिए। त्यो उनको पहिलो व्यवसाय हो। पछि त्यो व्यवसाय छाडेर २०५७ सालमा उच्च शिक्षाका लागि सिंगापुर गए।
‘आम्दानी मात्र गरेर के गर्नु, पढ्ने बेला पढ्नुपर्छ भनेर इन्स्टिच्युट र आमाबाको खेत जोत्ने ट्याक्टर बेचेर विदेश गएँ,’ उनले सुनाएँ।
सिंगापुरमा उनले एमबिए गरे। त्यहाँ सात वर्ष बसेपछि थाइल्याल्ड गए। थाइल्यान्डमा ट्रेडिङ कम्पनी खोले। एक वर्ष काम गरेपछि त्यो बेचेर म्याट्रेस फ्याक्ट्री खोले।
‘एक स्वीडिस व्यक्तिले ‘टेम्पुरा’ भन्ने ग्लोबल म्याट्रेस फ्याक्ट्री सञ्चालन गरेको थियो, जसले वयस्कहरूका लागि म्याट्रेस उत्पादन गर्थ्यो। उसैको सहयोगमा ‘बेबी टेम्प’ भन्ने म्याट्रेस फ्याक्ट्री थाइल्यान्डमा राख्यौं,’ उनले भने, ‘हामी बच्चाहरूका लागि म्याट्रेस उत्पादन गर्थ्यौं।’
केही समयपछि उनले त्यो फ्याक्ट्री पनि बेचेर होटलमा लगानी गरे। यसबाहेक अमेरिकाको एक इनर्जी ड्रिंक्स कम्पनीदेखि अनलाइनबाट होटल बुकिङ र एयरलाइन्सको टिकट किन्ने कम्पनीसमेत सञ्चालन गरेको उनी बताउँछन्।

उनले नेपालमा लगानी गर्ने उद्देश्यले ‘भिजिट नेपाल २०२०’ को साझेदार बन्ने गरी ‘एक्सल ट्रिप ग्लोबल’ कम्पनी खोलेर आन्तरिक पर्यटन प्रवर्द्धनमा हात हालेका थिए। यसअनुरूप १ सय ८० वटा ठाउँमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने योजना थियो। पर्यटन बोर्डसँग सम्झौता भइसकेको उनले बताए।

यही क्रममा इ–कमर्सको सम्भावना देखेपछि ‘ग्यापु अनलाइन मार्केट’ सुरू गरे।
‘म सपना देख्ने मान्छे, आफ्नो सपना पूरा गर्न लागेको छु’, उनले भने, ‘भोलि मेरी छोरीले नेपालमा काम पाइनँ भनेर विदेश जानु नपरोस्, यही इच्छा छ मेरो।’
‘हिजो म आर्थिक अवस्थाका लागि काम गर्थें, आज छोरीको भविष्यका लागि गरिरहेको छु।’