हालसम्म देशभर २ हजार ९ सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ  भने  डेंगी संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

जिल्ला तहबाट डेंगी संक्रमण पुष्टिको रिपोर्टिङ हुने क्रम जारी रहेकाले बढ्न सक्ने ईडीसीडीले जनाएको छ ।

यस्तै, विज्ञहरूका अनुसार डेंगी संक्रमितको आँकडा अस्पताल भर्ना भएकाहरुको मात्रै हो । सङ्क्रमित भई घरमै बसेर लक्षण अनुसारको उपचार गर्ने धेरै हुन सक्ने उनीहरूको अनुमान छ ।

नेपालमा १९ वर्षको अवधिमा सन् २००४ देखि हालसम्म ८३ हजार ६८१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

डेंगी नियन्त्रणका लागि कार्ययोजना 

यस वर्ष पनि नेपालमा डेंगी संक्रमितको दर बढ्दै गएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखा (ईडीसीडी) ले संक्रमण बढ्न नदिन डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना लागु गरेको छ ।

डेंगी फैलिएको १९ वर्षसम्म वार्षिक कार्यक्रम मात्रै गर्दै आएको ईडीसीडीले वार्षिक कार्ययोजना निर्माण गरी ७७ जिल्लामा कार्यान्वयनका लागि निर्देशन दिएको किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए ।

डेंगी रोगको निगरानी प्रणालीलाई चुस्त बनाउनका लागि देखिएको क्षेत्रमा तत्काल लामखुट्टे नियन्त्रण कार्यलाई सक्रिय बनाइएको उनले बताए ।

स्थानीय तथा जनजनसम्म डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना फैलाउन अति आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै, डेंगी रोगको निदानका लागि डेंगी रोग निदान किट समयमै व्यवस्थापन गर्न प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

उता, विभागबाट अस्पतालहरुका चिकित्सकहरुलाई डेंगी रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी हब अस्पताल सञ्जालसँग छलफल तथा प्राविधिक सल्लाह प्रदान गरी तयारी हालतमा राखिएको छ ।

कीटजन्य रोग सार्ने बाहक (लामखुट्टे) को वर्षभरि एकीकृत सर्भिलेन्सपश्चात डेंगी रोगको वार्षिक प्रक्षेपणको लागि तयारी गरिएको छ ।

लामखुट्टेको नियन्त्रणका लागि अन्य सरोकारवाला निकायहरु (भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा, सञ्चार) सँग अब वर्षायाम सुरु हुनु भन्दा अगावै तिनै तहमा सहकार्य तथा समन्वय गरिने उनले बताए ।

डेंगी रोगको संक्रमणको अवस्था

नेपालमा पहिलो पटक २०६१ सालदेखि डेंगी रोग देखिन सुरु भएको हो । त्यसपछि प्रत्येक वर्ष डेंगी रोग कहिले महामारीको रुपमा त कहिले छिटफुट रुपमा देखा पर्ने गरेको छ ।

२०७९ सालमा वैशाख महिनादेखि डेंगी रोगका बिरामीहरुको संख्यामा वृद्धि भई भदौ, असोज र कार्तिक महिनामा देशका ७७ वटै जिल्लाहरु संक्रमण पुष्टि भएको थियो ।

जसमा काठमाडौँ उपत्यकासहित १० भन्दा बढी जिल्लाहरुमा डेंगी प्रकोपको रुपमा देखा परेको थियो । २०७९ साल पुस मसान्त सम्ममा ५५ हजार धेरै मानिस संक्रमित भएका थिए भने ८८ जनाको मृत्यु भएको थियो ।

डेंगुले प्रकोपको रुप लिदा बागमती र लुम्बिनी प्रदेशमा बढी संक्रमण देखिएको थियो । संक्रमितहरुको ८३ % भन्दा बढी केशभार भने १० जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, दाङ, धादिङ, रुपन्देही, काभ्रे र सुर्खेतले ओगटेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।