Home पत्रपत्रिका पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेजको सहकार्यः पत्रकारलाई ५ हजारमै प्लस टु पढाउने

पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेजको सहकार्यः पत्रकारलाई ५ हजारमै प्लस टु पढाउने

30

वीरगञ्ज । नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेज, श्रीपुरबीच शैक्षिक, सामाजिक र पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार दुवै पक्षले पर्सा जिल्लाको शैक्षिक, सामाजिक र अर्धराजनीतिक क्षेत्रमा प्रगतिका लागि संयुक्त प्रयास गर्ने सहमति गरेका छन् ।

शैक्षिक क्षेत्र सुधारका लागि बहस र अन्तरक्रियाका कार्यक्रमहरू आयोजना गरिनेछ भने पत्रकारिता क्षेत्रको प्रवद्र्धन र पत्रकारहरूको दक्षता अभिवृद्धिमा विशेष पहल गरिने सम्झौता पत्रमा उल्लेख छ।

समझदारी अनुसार, पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूको क्षमता विकासका लागि वीरगञ्ज कलेजले पत्रकारिता विषयमा अध्ययनको विशेष व्यवस्था गर्नेछ । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य तथा सञ्चारकर्मीले कक्षा ११ र १२ अध्ययनका लागि वार्षिक रु. पाँच हजारमा अध्ययन गर्न पाउनेछन् । यसबाहेक, राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाणपत्र शुल्क भने विद्यार्थी आफैंले व्यहोर्नुपर्नेछ ।

दुवै पक्षले स्थानीय सरोकारका विषयमा सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने र आवश्यकताअनुसार अन्य सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने सम्झौता भएको नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेलले जानकारी दिइन् । उपाध्यक्ष पौडेलकाअनुसार तीन शैक्षिक सत्रसम्म लागू हुने यस समझदारीलाई आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा थप समयावधि बढाउन सकिनेछ ।

नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष ओमप्रकाश खनाल र वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । महासंघको सदस्यताका लागि प्लस टु सम्मको शैक्षिक योग्यता अनिवार्य गरिएको र वीरगञ्ज कलेजले प्लस टु मा पत्रकारिता संकाय सञ्चालन गरेको हुँदा सम्झौता गरिएको अध्यक्ष खनालको भनाइ छ ।