पक्राउ गरेको भैँसी राँगा छाड्न सशस्त्र प्रहरीले दुई लाख रुपैयाँ माग गरेको आरोप लगाएको छ । जितपुरका भैँसी व्यापारी मोहम्मद हासिम अन्सारीले यस्तो आरोप लगाएका हुन् ।
वीरगञ्जमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले सशस्त्र प्रहरीले भैँसी राँगा छाड्न दुई लाख माग गरेको बताए । सशस्त्र प्रहरीले अनावश्यक रुपमा भैँसी व्यापारीलाई दुःख दिएको बताउँदै व्यापारी मोहम्मद हासिमले भने, ‘भैँसी ढुवानी गर्ने ट्रकका चालक र भैँसी धपाउने गोठालासँग सशस्त्र प्रहरीले दुईलाख रुपैयाँ दिए भैँसी छाड्ने कुरा गरिएको थियो, हामी मानेनौँ दुःख दिने काम शुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिखमपुरले शुक्रबार ट्रक सहित ११ वटा भैँसी र ९ वटा राँगा नियन्त्रणमा लिएको थियो । भारतबाट तस्करी गरिएको आशंकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भिखमपुरले शुक्रबार ना ७ ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका भैँसी र राँगासहित दुई जनालाई पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा रहेको पाडा बजारबाट नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्लामा पठाएको थियो ।
सशस्त्र प्रहरीले भने नियन्त्रणमा लिइएको भैँसी र पाडा सम्बन्धित निकायले नै अनुसन्धान कारबाही गर्ने जनाएको छ । तस्करी भएको सूचनाको आधारमा नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको जनाएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिने गरेकोले त्यसपछि वैध हो वा अवैध हो भन्ने अनुसन्धान गर्ने निकायले नै निक्र्योल गर्ने बताए । उनले कागजपत्र र प्रक्रिया मिलेको नमिलेको विषयमा सशस्त्र प्रहरीलाई अधिकार नभएकोले नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउने काम मात्रै सशस्त्र प्रहरीको रहेको बताए ।
भन्सारले बुझ्न नमाने कारण सहित खुलाएर लेखेर दिनुपर्ने सशस्त्र प्रहरी उपरीक्षक धिमालको भनाइ छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भैँसी र राँगाको कागजपत्र हेर्दा सबै दुरुस्त रहेको पाइएको बताए । उनले सरसर्ती हेर्दा कागजपत्र सबै देखिएको छ । भीसीटीएस, भेटनरी, वडाको सिफारिसलगायतका सबै कागजपत्र भएकोले सो भँसी राँगा तस्करी नभएको जस्तो देखिएकोले फिर्ता गरिएको बताए ।