बीरगञ्ज,चैत ३१ / बीरगञ्जमा दुई समुदायबीच हिंसा भडकिए पछि अवस्थालाई नियन्त्रण गर्न शनिबार साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको छ । कर्फ्युमा पनि प्रदर्शन जारी राखेपछि सडकमा सेना देखा परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सेना परिचालन भएको पुष्टि गरे ।
कर्फ्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर बीरगञ्जको नगवाका एक वृद्ध घाइते भएका छन् । स्थानीय हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।
कर्फ्यु कार्यान्वयनका क्रममा वीरगञ्जको इनर्वा क्षेत्रमा प्रहरीले गोली चलाउँदा स्थानीय हरेन्द्र राउत अहिर घाइते भएका छन् । उनको बायाँ हातमा गोली लागेको नारायणी अस्पतालको आकस्मिक कक्षका चिकित्सकले पुष्टि गरेका छन् । राउतको अस्पतालमा उपचार भइरहेको छ । गोली चलेको विषयमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसँग सम्पर्क हुन सकेन ।
तोडफोड र आगजनीबाट छपकैया क्षेत्रका व्यवसायीहरूलाई लाखौँको क्षति भएको प्रारम्भिक अनुमान छ । सिडिओ अर्यालले शान्ति कायम गर्न सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन् । “हामीले स्थिति नियन्त्रणमा लिइसकेका छौँ । अब कसैले पनि उत्तेजक गतिविधि नगर्न अनुरोध छ,” उनले भने । उनले घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।
वीरगन्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि कर्फ्यु लगाइएको क्षेत्रमा सेना परिचालन गरिएको छ ।
झडपमा प्रहरी र स्थानीय गरी ४० भन्दा बढी घाइते भएका छन् भने ठूलो परिमाणमा सम्पत्ति नष्ट भएको छ ।सर्वसाधारणलाई बचाउदा पर्साका प्रहरीका प्रमुख गौतम मिश्र पनि घाइते भएका छन ।यसै गरी सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता(डिएसपी) देवेन्द्र सिंहसहित २५ जना घाइते भएको बुझिएको छ ।
प्रदर्शनकारी तर्फ १५ जना घाइते भएको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए । घाइतेहरूको वीरगञ्ज स्थित नारायणी अस्पताल, गण्डक अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको उनले बताए ।
दुई समुदायबीच भएको झडपको क्रममा चार मोटरसाइकलमा आगजनी र केहि होटेल पनि तोडफोड गरिएको छ । स्थिति अनियन्त्रित बनेपछि प्रहरीले करिब ७५ सेल आश्रुग्यास प्रहार गरेको थियो ।
