Home Breaking News हरि खेतान क्याम्पसमा शिक्षा संकट ः विद्यार्थी सडकमा, शिक्षक–कर्मचारी तालाबन्दीमा

हरि खेतान क्याम्पसमा शिक्षा संकट ः विद्यार्थी सडकमा, शिक्षक–कर्मचारी तालाबन्दीमा

83

वीरगञ्ज-वीरगञ्जमा नामचलेको शैक्षिक संस्थाको रुपमा रहेको हरि खेतान बहुमुखी क्याम्पस अवस्था लथालिगं हुदै गएको छ । क्याम्पस संचालक समिति,क्याम्पस प्रमुख र शिक्षक तथा कर्मचारीहरुको त्रिकोणात्मक स्वार्थले गर्दा क्यम्पसको अवस्था खराब भएको बिद्यार्थीहरुको आरोप रहेको छ । क्याम्पसको अध्यन अध्यापन एक्कासी ठप्प बनेपछि बिद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका छन । कक्षा सञ्चालन नहुँदा आक्रोशित विद्यार्थीले बुधबार बिहान क्याम्पसको मुख्य गेट अगाडी सडकमा धर्ना दिदै प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

प्लस २ देखि स्नातक तहसम्मका विद्यार्थीले “पढाइ चाहियो, राजनीति होइन” भन्ने नारा लगाउदै केहि समयको लागी सडम समेत अवरुद्ध पारेका थिए । उनीहरूका अनुसार, क्याम्पस प्रमुख, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबीचको लामो विवादका कारण साउन महिना देखि नियमित पठन पाठन हुन सकेको छैन ।

“मंगलबार मात्रै संचालनमा आएको क्याम्पस पुन बन्द हुनले आफुहरु बिच्चलीमा परेको बिद्यार्थीहरुले आक्रोस व्यक्त गरे । हिजो मात्र खुल्यो आज फेरि बन्द भएपछि हामी आन्दोलनमा उत्रन बाध्य भयौं,” स्नातक तहका विद्यार्थी मनोज कुमार यादवले बताउदै भने, वार्षिक शैक्षिक क्यालेन्डर नै कार्यान्वयन भएको छैन,हाम्रो भविष्यसँग खेलबाड भइरहेको छ ।

मङ्गलवार देखि शिक्षक र कर्मचारी क्याम्पस प्रशासनविरुद्ध तालाबन्दी गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । उनीहरूले क्याम्पस प्रमुख किशोरी राय यादवले मनोमानी, गैरजिम्मेवार व्यवहार गर्दै कर्मचारीको हक–हितको कुरालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

कर्मचारी युनियनका अध्यक्ष विनोद यादवले माग सम्बोधनका लागि असोज २० गतेसम्मको अल्टिमेटम दिए पनि क्याम्पस प्रमुखले बेवास्ता गरेपछि आफुहरु तालाबन्दी गर्न बाध्य भएको बताए । “हाम्रो संघर्ष व्यवस्थापनको परिवर्तन होइन, सुधारका लागि हो , तर प्रमुख यादवले बारम्बार हठी व्यवहार देखाएकोले यो अवस्था उत्पन्न भएको हो,” यादवले भने ।

क्याम्पस प्रमुख किशोरी राय यादवले कर्मचारीको आरोप निराधार रहेको बताउदै क्याम्पस व्यवस्थापन समितिले आफुलाई असहयोग गरेको गुनासो व्यक्त गरे ।
“मे नियुक्त भएदेखि नै आर्थिक–प्रशासनिक नियमावली बनाउन खोजेँ, तर समितिले सहयोग गरेन, उल्टै नियम विपरीत निर्णयहरू गर्न खोज्छ,” प्रमुख यादवले सुनाए ।

यादवका अनुसार, समितिले अवकाशप्राप्त व्यक्तिलाई हरि खेतानमा उपप्रधानाध्यापक नियुक्त गरेर नियम उल्लङ्घन गरेको छ । “कर्मचारीको तलब वृद्धि निर्णयसमेत समितिले बैठकबिना ग¥यो। यस्तो अवस्थामा कसरी सुचारु ढङ्गले काम गर्न सकिन्छ?” उनले प्रश्न गरे।

आन्दोलन स्थलमा पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेपछि आन्दोलन रोकिएको छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले विद्यार्थीहरुसग सम्वाद गर्दै समस्या समाधानका लागि क्याम्पस प्रशासन, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबीच नियमित छलफल भइरहेको जानकारी बताए ।“दुई दिनभित्र सहमति गराई आइतबार देखि कक्षा सुचारु गराउने प्रयास भइरहेको छ,” सिडिओ सुवेदीले बताए।

हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जको सबैभन्दा ठूलो शैक्षिक संस्था हो, जहाँ कक्षा ११, १२, स्नातक, स्नातकोत्तर तहदेखि सम्बन्धित विद्यालयमा माध्यमिक तहसम्म पढाइ हुन्छ। तर पछिल्ला विवादले पाँच हजारभन्दा बढी विद्यार्थीको अध्ययन संकटमा परेको छ।

शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र क्याम्पस प्रमुखबीचको अविश्वास र राजनीतिक हस्तक्षेपले शैक्षिक वातावरण दिनानुदिन बिग्रँदै गएको छ। विद्यार्थी र अभिभावक दुवै चिन्तित छन् । स्थानीय शिक्षाविद्हरूले चेतावनी दिएका छन्, “यदि तुरुन्तै सहमति र सुधार नआए, यो क्याम्पसको शैक्षिक प्रतिष्ठा नै धराशायी बन्ने खतरा छ।”