Warning: Trying to access array offset on false in /home/arthikdwar.com/public_html/wp-content/themes/neelamb-theme-2026/header.php on line 29
आर्थिक क्रान्तिको डिजिटल संवाहक

सत्ता जोगाउन ओली–देउवा लाचार

न्युज डेस्क
२०८१ माघ २४, बिहीबार १३:२७

काठमाडौं – सरकारले ल्याएको अध्यादेश पारित गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) अनिर्णीत छ, तर अध्यक्ष उपेन्द्र यादवले भने सरकारमा प्रवेशका लागि कडा बार्गेनिङ गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई आफ्नो पक्षमा ल्याउन लगातार प्रयास गरिरहेका छन्।

जसपाले अध्यादेश अध्ययन गर्न कार्यदल गठन गरिसकेको छ, तर यादवले अहिलेसम्म स्पष्ट निर्णय गरेका छैनन्। उनले संघीय सरकारमा उपप्रधानसहितको मन्त्रालय र मधेस प्रदेशमा मुख्यमन्त्री पदको माग राखेका छन्। साथै, जसपाबाट विभाजित अशोक राई नेतृत्वको समुहका मन्त्रीलाई हटाउने सर्त पनि राखिएको छ।

ओली र देउवाले पटक–पटक यादवलाई समर्थन गर्न आग्रह गरे पनि उनले कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्। राष्ट्रिय सभामा जसपाको तीन सांसद निर्णायक भएकाले यादवको समर्थनबिना अध्यादेश पारित नहुने अवस्था छ।

यसैबीच, माओवादी अध्यक्ष प्रचण्ड र उपेन्द्र यादवबीचको सम्बन्ध चिसिएको छ। माधव नेपालमार्फत उनलाई विपक्षी मोर्चामा ल्याउने प्रयास भए पनि यादव अहिलेसम्म मौन छन्।जसपा प्रवक्ता मनीष सुमनले अध्यादेशलाई चोर बाटोको संज्ञा दिँदै संसदबाटै निर्णय हुनुपर्ने बताएका छन्। उनले मन्त्री पदका लागि आफ्नो मूल्य–मान्यता बेच्न नसकिने स्पष्ट पारेका छन्।

अब उपेन्द्र यादव सत्तामा सहभागी हुनेछन् कि विपक्षमा उभिनेछन्? ओली–देउवा उनको शर्तहरू स्वीकार गर्न बाध्य हुनेछन् कि नयाँ राजनीतिक समीकरण जन्मिनेछ? सत्ता खेल अब नाटकीय मोडमा पुगेको छ!

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?