अनाधिकृत रुपमा प्रवेश गर्न खोज्ने कजाकिस्तानी महिला नियन्त्रणमा
वीरगञ्ज । भारत–नेपाल सीमास्थित वीरगञ्जको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा अनाधिकृत रुपमा नेपाल प्रवेश गर्न खोज्ने नवालक सहित एक कजाकिस्तानी महिलालाई नियन्त्रणमा लिएको छ ।
भिसाको अवधि सकिएको अवस्थामा नेपाल प्रवेश गर्न खोजेकी कजाकिस्तानकी एक महिला र उनका नाबालिक छोरालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।
मिडिया रिपोर्टमा उल्लेख समाचार अनुसार कजाकिस्तानको २८ वर्षीया एसेल किडिमोल्डा आफ्नो नाबालिक छोरा सहित भारतको रक्सौल भएर मैत्री पुल हुँदै नेपाल प्रवेश गर्न लागेकी थिइन् ।
शंकराचार्य गेटमा खटिएका सुरक्षाकर्मीले नियमित कागजात जाँचका क्रममा उनीहरूको यात्रा विवरण परीक्षण गरेका थिए । तर, जाँचका क्रममा महिलाको भिसा अवधि समाप्त भइसकेको खुल्न आएपछि प्रहरीले तत्काल आमा–छोरालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारवाहीका लागि वीरगञ्ज स्थित अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
अध्यागमन कार्यालयले उनीहरूको राहदानी, भिसाको अवस्था तथा नेपाल प्रवेशको उद्देश्यबारे विस्तृत अनुसन्धान गर्ने जनाए । अनुसन्धान प्रतिवेदनका आधारमा प्रचलित आप्रवासन कानुन अनुसार आवश्यक कारबाही अघि बढाइने बताइएको छ ।
सुरक्षा निकायका अनुसार भारत–नेपाल सीमा हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकका लागि वैध राहदानी र भिसा अनिवार्य हुने भएकाले सीमा नाकाहरूमा कागजातको कडाइका साथ जाँच गर्ने गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?
