आर्थिक क्रान्तिको डिजिटल संवाहक

“एक पृथ्वी, एक स्वास्थ्यका लागि योग“ — बीरगञ्जमा अन्तर्राष्ट्रिय योग दिवस भव्यरुपमा मनाइयो

न्युज डेस्क
२०८२ असार ७, शनिबार १५:२८

बीरगञ्ज / ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, बीरगञ्जद्वारा शनिबार बिहान शंकराचार्य गेटमा भव्य योग कार्यक्रमको आयोजना गरियो । नेपाल–भारत सीमामा अवस्थित यो गेटलाई नेपालको प्रवेशद्वार पनि भनिन्छ । दुतावासले अन्तर्राष्ट्रिय योग दिवस २०२५ समारोहहरुको श्रृंखलाको योग कार्यक्रमहरूको अन्तिम तथा महत्वपूर्ण रुपमा गर्दै समापन गरेको छ ।
कार्यक्रममा मुख्य अतिथिको रूपमा मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतीश कुमार सिंह तथा विशिष्ट अतिथिका रूपमा खेल तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जायसवालको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री सतीश कुमार सिहले योग सबै रोगको औषधी भएको धारणा व्यक्र गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले योगको नियमित अभ्यासबाट स्वास्थ्यलाई जोगाउन सकिने कुरा उल्लेख गर्दै भन्नुभयो, “योग सबै प्रकारका रोग र मानसिक तनावको उत्कृष्ट उपचार हो । यसलाई जीवनको अभिन्न हिस्सा बनाउनु पर्छ ।” उहाँले भारत सरकार र महावाणिज्य दूतावासप्रति मधेश प्रदेशमा योगलाई लोकप्रिय बनाउन गरेको योगदानका लागि आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा भारतीय महावाणिज्य दुत देवीसहाय मिनाले कार्यक्रममा उपस्थित सबै अतिथिहरुको स्वागत गर्दै योगको महात्व र उपयोगीबारे जानकारी गराउनु भयो । महावाणिज्यदूत मीनाले २०१४ मा संयुक्त राष्ट्रसंघ महासभामा नेपाल सहित १७७ देशहरूले सहप्रस्तावको रूपमा समर्थन गरेपछि अन्तर्राष्ट्रिय योग दिवस सुरु भएको जानकारी दिनुभयो ।

उहाँले शरीर, मन र आत्माको समग्र स्वास्थ्यका लागि योग अत्यन्त आवश्यक भएको उल्लेख गर्दै भन्नुभयो, “यो वर्षको योग दिवसको विषयवस्तु ‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ ले मानवजातिको मात्र होइन, सम्पूर्ण पृथ्वीको हितका लागि योगको भूमिका देखाउँछ।“
खेल तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जायसवालले योगको सार्वभौमिक र उपयोगिता माथि प्रकाश पार्दै भन्नुभयो, “ उमेर, वर्ग वा पेशा जे भए पनि प्रत्येक व्यक्तिले दैनिक योग गर्नु पर्छ । योग मानसिक र शारीरिक दुवै स्वास्थ्यका लागि अमूल्य अभ्यास हो । साथै उहाँले प्रदेशका विभिन्न क्षेत्रमा भारत सरकारको सहयोगमा योग कार्यक्रमहरू विस्तार गर्ने कार्यलाई सराहना गर्नुभयो ।
भारतीय महाबाणिज्य दुतावासका राजनैतिक कन्सुल संजय कुमारले उदघोषण गर्नुभएको योग कार्यक्रममा पूर्वमन्त्रीहरू, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायत सबै सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुखहरू, पतञ्जलि योग समितिका सदस्यहरू, नेपाल–भारत मैत्री संघ तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागी सबै व्यक्तिहरूले प्रशिक्षित योग गुरूहरूको नेतृत्वमा सामूहिक योग अभ्यास गरेका थिए । भारतीय महावाणिज्य दूतावास, बीरगञ्जले आयोजना गरेको यो कार्यक्रमले भारत–नेपाल सम्बन्धलाई अझ प्रगाढ बनाएको सहभागीहरुको भनाइ रहेको थियो ।

साथै भारतीय महावाणिज्य दुतवासले योग कार्यक्रमलाई मधेस प्रदेशमा गर्दै आएको अभियानले योगको विश्वव्यापी महत्त्वलाई पनि पुनः एकपटक जनसमक्ष उजागर गरेको छ । “वसुधैव कुटुम्बकम” भन्ने दर्शनको सार बोकेको यो अभियानले नेपाली समाजमा पनि योगप्रतिको चेतना गहिरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?