वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा वीरगञ्जको माइस्थान क्षेत्रमा करिब पाँच सय जनालाई चिया वितरण गरिएको छ ।
साता ब्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पस, सेस्मी एकेडेमी, विजय पथ, गोल्डन स्पैरो, गहवामाई, ग्रीन सिटी र इनिसिएटिभको संयुक्त आयोजनामा चिया वितरण गरिएका हो । अहिले जाडोको मौसममा लायन्स क्लबका सदस्यहरूले समुदायलाई सहयोग गर्ने उद्देश्य सहित उक्त कार्यक्रमको आयोजना गरेका थिए ।
लायन्स क्लब अफ वीरगञ्ज ग्रीन क्याम्पसका लायन उमेश साह कानूको अगुवाइमा सम्पन्न कार्यक्रममा उप गभर्नर लायन राम बिहारी पाण्डे, मेल्भिन जोन्स साता ब्यापी कार्यक्रम संयोजक लायन आश्मा सिंह यादव, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष लायन सुनील गुप्ता, लायन विनीत जायसवाल, लायन किरण अग्रवाल, उमेश गुप्ता, प्रकाश उपाध्याय, दीना गुप्ता लगायत समाजसेवी, पत्रकार र स्थानिय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
आर्थिकद्वार/बिरगञ्ज
वीरगन्ज,पुष २८ । बिहार लोक सेवा आयोगद्वारा आयोजित ७० औ पीटी परीक्षालाई रद्द गर्न मांगगर्दै क्रमश बिहारमा बिरोध हुदै आएको छ । बिहार पब्लीक सर्विस कमिशनका सहभागी परिक्षार्थीहरुले परिक्षामा भएको अनिमिततालाई लिएर आन्दोलन गर्दै आएका छन ।
अनियमिततालाई लिएर यसलाई बदर गरी पुन परिक्षाको मांग जोडतोडले उठेको छ । परिक्षार्थीहरुले गरेको आन्दोलनमा सरकारका बिरोधी दलबाट चाहिने भन्दा बढी समर्थन पाएको छ । सोहि क्रममा युवाहरुको मांगलाई समर्थन गर्दै निर्दलीय सांसद पप्पू यादवले आज बिहार बंदको आह्वानको घोषणा छन । पप्पू यादवले १२ जनवरीको दिन बिहारबन्दको आहवान गरेका हुन ।
पप्पू यादवको आहवानलाई भीम आर्मी र ब्क्ष्ःक्ष्ः ले पनि समर्थन गरेको छ । साथै सांसद यादवले बिहारको बिपक्षीदल आरजेडी र वाम दललाई पनि बन्दमा समर्थन जनाउन अनुरोध गरेका छन ।
२८ पुष, वीरगञ्ज । जिल्ला बचत तथा सहकारी संघ पर्साको अध्यक्षमा हरेराम पटेल निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा हरेराम पटेलले आफ्ना प्रतिद्वन्दी राकेश यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा जिस्नु बराल, उपाध्यक्षमा नगनारायण सिंह, महासचिवमा राजिव कुमार साह सोनार, कोषाध्यक्षमा अरुण कुमार साह निर्वाचित भएका हुन् ।
११ जना कार्यसमिति र ३ जना लेखा समिति गरी १४ पदका लागि सम्पन्न निर्वाचनमा २८ जनाको उम्मेदवारी परेको थियो ।
लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
वीरगञ्ज । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा साता ब्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफको आयोजनामा आज वीरगञ्जको कभर्ड हलमा कलेज स्तरिय मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाल र पर्सा ब्याडमिन्टन संघका अध्यक्ष नरेश कायस्थले ब्याडमिन्टन खेलेर प्रतियोगिताको उदघाटन गरेका थिए ।
आज सम्पन्न भएको मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगितामा वीरगञ्ज ईन्स्टीच्युट अफ टेक्नोलोजी, दिल्ली पब्लिक स्कुल, नेशनल ईन्फोटेक कलेज, डिएभी कलेज लगायत वीरगञ्जका ११ वटा कलेजका विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई अतिथिहरुद्वारा शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफका सचिव लायन रोशन गुप्ताको अध्यक्षतामा भएको ब्याडमिन्टन प्रतियोगितामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशिल साह कानु, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन देवकी नन्दन अग्रवाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पृथ्वी आलोक कुशवाहा लगायत लायन्सका अन्य सदस्य एवं पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बीरगन्ज /
विश्व हिन्दी दिवस वीरगन्जमा धुमधामका साथ मनाइएको छ । हिन्दी दिवसको उपलक्ष्यमा भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कवि सम्मेलनमा बाचन गरिएको हिंन्दी कविताबाट कार्यक्रमका सहभागीहरुलाई मंत्रमुग्द बनाएको थियो ।
शुक्रबार महाबाणिज्य दुतावासमा आयोजित कमिसम्मेलन कार्यक्रममा ंवीरगंजका कवि तथा कवितृहरुले हिन्दी कविता बाचन गर्दै हिन्दी भाषको महत्वबारे जानकारी गराएका थिए ।
कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीनाले भारत मात्रै नभइ पुरै विश्वमा हिन्दको महत्व दिन प्रतिदिन बढदै गएको बताउनु भयो । उहाले वैश्वीकसमाजमा हिन्दी भाषा बोलेनेहरुको तेश्रो स्थान रहेको बताउनु भयो ।
महावाणिज्य दुत मिनाले हिन्दी भाषाले नेपाल र भारतको सांस्कृतिक सम्वन्धलाई अझ बजबुत र सुदृढ बनाएको बताउदै १९७५ को १० जनवरीमा भारतको नागपुरमा प्रथम विश्व हिन्दी दिवसको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा उहाले भारतीय प्रधानमन्त्रीले विश्वहिन्दी दिवसको उपलक्ष्यमा व्यक्त गर्नु भएको सन्देश बाचन गरेर सुनाउनु भएको थियो ।
अंतर्राष्ट्रीय हिंदी दिवसको उपलक्षमा ७ जनवरी २०२५ का दिन आयोजना गरिएको हिंदी निबंध लेखन प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका पदाधिकारी ,स्थानिय साहित्यकार,पत्रकार,समाजसेवी एवम जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेजको सहकार्यः पत्रकारलाई ५ हजारमै प्लस टु पढाउने
वीरगञ्ज । नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेज, श्रीपुरबीच शैक्षिक, सामाजिक र पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार दुवै पक्षले पर्सा जिल्लाको शैक्षिक, सामाजिक र अर्धराजनीतिक क्षेत्रमा प्रगतिका लागि संयुक्त प्रयास गर्ने सहमति गरेका छन् ।
शैक्षिक क्षेत्र सुधारका लागि बहस र अन्तरक्रियाका कार्यक्रमहरू आयोजना गरिनेछ भने पत्रकारिता क्षेत्रको प्रवद्र्धन र पत्रकारहरूको दक्षता अभिवृद्धिमा विशेष पहल गरिने सम्झौता पत्रमा उल्लेख छ।
समझदारी अनुसार, पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूको क्षमता विकासका लागि वीरगञ्ज कलेजले पत्रकारिता विषयमा अध्ययनको विशेष व्यवस्था गर्नेछ । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य तथा सञ्चारकर्मीले कक्षा ११ र १२ अध्ययनका लागि वार्षिक रु. पाँच हजारमा अध्ययन गर्न पाउनेछन् । यसबाहेक, राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाणपत्र शुल्क भने विद्यार्थी आफैंले व्यहोर्नुपर्नेछ ।
दुवै पक्षले स्थानीय सरोकारका विषयमा सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने र आवश्यकताअनुसार अन्य सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने सम्झौता भएको नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेलले जानकारी दिइन् । उपाध्यक्ष पौडेलकाअनुसार तीन शैक्षिक सत्रसम्म लागू हुने यस समझदारीलाई आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा थप समयावधि बढाउन सकिनेछ ।
नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष ओमप्रकाश खनाल र वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । महासंघको सदस्यताका लागि प्लस टु सम्मको शैक्षिक योग्यता अनिवार्य गरिएको र वीरगञ्ज कलेजले प्लस टु मा पत्रकारिता संकाय सञ्चालन गरेको हुँदा सम्झौता गरिएको अध्यक्ष खनालको भनाइ छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरेका कोइरालासहित नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्किएका हुन् । देशको सार्वभौमसत्ता संरक्षणका लागि बीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्किएका थिए ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका हुन् ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।
सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ ‘आत्मजीवनी’ र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका छन् ।
बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्त्तकका रूपमा चिनिन्छन् । विक्रम संवत २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो ।
दिवसका अवसरमा कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । संभार, स्वतन्त्र समाचार सेवा
तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले तराई मधेसका धेरै ठाउँ र काठमाण्डौ उपत्यकाको केही ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको कुहिरो केहीबेरमा हटेर दिउँसो घाम लाग्दै जाने तर तराईमा अबेरसम्म रहने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।कुहिरोसँगै चिसो स्याँठ पनि चल्न थालेको तराईका क्षेत्रमा स्थानियवासीको दैनिकीमा समस्या हुन थालेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महराले केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताउनुभयो ।चिसोले चौपाया, पशुपन्क्षी तथा बालीनालीलाई पनि असर पुर्याएको छ । चिसोकै कारण अस्पतालमा बिरामीको सङ्ख्यामा बढ्न थालेको छ ।
चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित हुने भएकाले ख्याल गर्नुपर्ने डा.रवीन्द्र साहले बताउनुभयो । तराईमा चिसोसँगै शीतलहरबाट विगतमा कतिपयले ज्यान गुमाउने गरेका थिए । जल तथा मौसम पूर्वानुमान महाशाखाले यसवर्ष अहिलेसम्म आधिकारिक रुपमा शीतलहर चलिसकेको पुष्टि गरेको छैन । आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ
वीरगञ्ज ।चाडपर्व नजिकिइसक्यो, बजारमा कुनै रौनक छैन । कोरोना महामारीले सुस्ताएको बजारले त्यसयता लय समात्न सकेन । त्यसमाथि सरकारले लिएको आयात नियन्त्रणको नीति र त्यसैबीच लागू गरिएको चालू पूँजी कर्जा मार्गदर्शनले बजारलाई अझ खुम्च्याउने काम गर्यो ।
विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि अत्तालिएको सरकारले आयात कस्ने नीति लियो । तर, यो नीतिले प्रभावकारी काम गर्न सकेन । आयातमा कडाइ गरिएका एकाध वस्तुबाहेक सबै बजारमा सजिलै उपलब्ध थिए, मूल्यमात्र आकाशिएको थियो । अनधिकृत आयातबाट राजस्व गुम्ने क्रम बढेपछि सरकारले आयातमा लगाएको प्रतिबन्ध हटायो ।
यो कदमले पनि बजारलाई लयमा फर्काउन सकेन । अहिले उद्योग व्यापार क्षमताको एक चौथाइभन्दा पनि तल झरिसकेको उद्यमी बताउँछन् । सरकारले अर्थतन्त्रका सूचकमा सुधार आएको दाबी गरिरहँदा निजीक्षेत्र यो मान्न तयार छैन ।
बजार मन्दीमा गइरहेको बुझाइ निजीक्षेत्रको छ । ‘बजारमा सुधारको संकेत देखिएको छैन । तथ्यांकमात्रै सकारात्मक भएर हुँदैन । बजारमा त्यसको प्रत्याभूति हुनुपर्छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम भन्छन् ।
अहिले निर्माण सामग्री, लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तुको खपतसमेत खस्किएको छ । विकास निर्माणका काम करीबकरीब ठप्प हुँदा यसको चक्रीय प्रभाव माग र उत्पादनमा परेको उद्यमीको बुझाइ छ । सिमेन्ट, फलामजस्ता ठूलो लगानीका उद्योगका उत्पादनको माग स्वाट्टै घटेको उद्योगी बताउँछन् ।
उद्योगीले अहिले नाफा कमाउन नभएर घाटा कम गर्न काम गरिरहेको सिमेन्ट र डन्डीलगायत निर्माण सामग्री उत्पादनमा सक्रिय उद्योगी राजेश अग्रवाल बताउँछन् । ‘बजारमा माग नभए पनि मजदूर, कर्मचारी, विद्युत्, बैंकको ब्याजजस्ता खर्च लागिरहेको हुन्छ । यस्ता खर्चको चक्र चलाउन पनि उद्योग चलाउनैपर्ने बाध्यता छ,’ उद्यमी अग्रवालले भने ।
सिमेन्ट, डन्डी, खानेतेल, पशुपन्छी आहार, पोल्ट्रीलगायत आत्मनिर्भर भनिएका उद्यममा प्रतिस्पर्धा पनि उस्तै चर्को छ । मागको दुई/तीन गुणा उत्पादन क्षमता पुगिसकेको छ । त्यसमाथि बजार शिथिल भएपछि यस्ता उद्योग थप सकसमा परेका छन् । खुम्चिएको बजारमा तीव्र प्रतिस्पर्धा भएपछि खर्च चलाउनकै लागि लागतभन्दा कम मूल्यमा उत्पादन बेच्नुपरेको उद्योगी बताउँछन् ।
औषधिको पनि खपत घट्यो
अत्यावश्यकीय मानिने औषधिको समेत खपत घटेको नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष प्रभात रुंगटा बताउँछन् । कोरोना महामारीयता स्वास्थ्यचेतना र सतर्कता बढ्नु, स्वास्थ्य बीमामा उपलब्ध सस्तो औषधिलगायत कारण माग घटेको उद्यमी बताउँछन् ।
सरकारले स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराउने औषधि ग्लोबल टेन्डरमार्फत आपूर्ति गर्दै आएकाले स्वदेशी उत्पादकले प्रतिस्पर्धा गर्न नसकेको कोषाध्यक्ष रुंगटाले बताए । अहिले स्वदेशी औषधिको खपत २५/३० प्रतिशतले घटेको उत्पादकको अनुमान छ ।
समाधान कसरी ?
वित्तीय प्रणालीमा देखिएको लगानीयोग्य रकम (तरलता)को अभाव पनि बजार संकुचनको प्रमुख कारण भएको बुझाइ निजीक्षेत्रको छ । चर्को ब्याजदरका कारण नयाँ लगानी नहुँदा निर्माणका काम रोकिएका छन् । त्यसको चक्रीय प्रभावले समग्र माग घटेको उनीहरू बताउँछन् ।
सरकारले सार्वजनिक खर्चको क्षमता बढाएर बजारलाई चलायमान बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको व्यापार समितिका सभापति सुबोधकुमार गुप्ता सुझाउँछन् । ‘फजुल खर्च नियन्त्रण गर्दै पूँजीगत खर्च नबढाउने हो भने अर्थतन्त्रमा गम्भीर संकट आउन सक्छ । सरकार अहिलेसम्म पनि यसमा आवश्यक गम्भीर देखिएको छैन,’ गुप्ताले भने ।
लगानी बढाएर बजारमा माग सृजना भए अर्थतन्त्र लयमा आउने दाबी गरिएको छ । चालू पूँजी कर्जा मार्गदर्शनका प्रावधान अहिलेका लागि स्थगन गरेर बजारलाई चलायमान बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् ।
तरलता अभावको दीर्घकालीन समाधान खोज्नुपर्ने उद्यमी बताउँछन् । ‘तरलता अभावको टालटुले समाधान खोजेर हुँदैन । ब्याजदर नियन्त्रणमा राख्न स्पष्ट नीतिगत व्यवस्था हुनुपर्छ,’ बैंकहरूले आधारदरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था हुनुपर्ने वरिष्ठ उपाध्यक्ष गौतमको सुझाव छ ।
साभार, आर्थिक अभियान दैनिक
‘कर आतंक’को चपेटामा व्यवसायी
काठमाडौं । लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेपछि अधिकारीहरू जसरी भए पनि उठाउने ध्याउन्नमा छन् । उनीहरूले उद्योगी, व्यापारीलाई अग्रिम कर बुझाउन फोन गरेर दबाब दिनेदेखि राजस्व चुहावट रोक्नेसम्मका प्रयास गरिरहेका छन् ।
अहिलेसम्म दाताबाट अनुदान प्राप्त गर्न नसकेको सरकारले करसमेत राम्रोसँग उठाउन सकेको छैन । यसकारण तालुक मन्त्रालयबाटै अग्रिम कर उठाउन र चुहावटका मुहान बन्द गर्न निर्देशन भएको छ । यतिबेला कर कार्यालयहरूले ‘अवस्था बुझेर अग्रिम कर बुझाउन’ दबाब दिएको उद्योगी व्यवसायीको भनाइ छ । सरकारको निशानामा खासगरी ठूला, मध्यमस्तरका करदाता परेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले ‘कर आतंक’ बढेको बताए । उद्योगधन्दा अप्ठ्यारोमा परेका बेला वीरगञ्जका कर अधिकारीहरूले दिनहुँजसो अग्रिम कर तिर्न उद्योगपतिहरूलाई चर्को दबाब दिइरहेको उनले बताए ।
‘राज्य आतंक अति भयो । मन्दीले उद्योगहरू क्षमताअनुसार चल्ने अवस्था छैन । आम्दानी सुकेको छ, उद्योगधन्दा कसरी बचाउने भन्ने चिन्ताले पिरोलेका बेला कर अधिकारीले दिनहुँ बोलाएर कर तिर्न भनिरहेका छन्, हामीले कसरी तिर्ने ?’ उनले आर्थिक अभियानसँग भने ।
बजेटमा महत्त्वांकाक्षी लक्ष्य राख्ने र चालू खर्च घटाउन पटक्कै ध्यान नदिने राज्यले अहिले चर्को दबाब दिएर कर उठाउन लागेको उनको गुनासो छ । थलिएको अर्थव्यवस्था सुधार्न राज्यले प्रभावकारी कदम नचाल्दा चलिरहेका उद्योगधन्दा झन्झन् समस्यामा फसिरहेका छन् । सरकारले खर्च धान्न आर्थिक वर्षको शुरूदेखि नै आन्तरिक ऋण लिँदा वित्तीय प्रणालीमार्फत उद्योगधन्दा, कलकारखानामा जाने ठूलो रकम रोकिएको उनको भनाइ छ । ‘सरकारले आम्दानी घटेको बेला चालू खर्च निर्मम रूपमा कटौती गर्नुपर्छ,’ उनले भने, ‘उद्योगीलाई पेलेर निकास निस्किँदैन ।’ चालू खर्च घटाउन अहिलेबाटै राज्यले सेनाको संख्यादेखि अनावश्यक दरबन्दी कटौती गर्ने र आर्थिक रूपमा सम्पन्नलाई सामाजिक सुरक्षा भत्ता रोक्नेजस्ता काम गर्नुपर्ने उनको सुझाव छ ।
वीरगञ्जबाहेक समग्र मधेश र लुम्बिनी प्रदेशका उद्योगपतिले पनि यही गुनासो गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले यतिबेला उद्योगी, व्यापारी राज्यको चौतर्फी घेराबन्दीमा परेको बताए । उनका अनुसार राज्यले कोभिड अघिसम्म सरोकारवालासँग घनीभूत छलफल गरेर मात्र करनीति बनाउँथ्यो । पछिल्लो समय त्यसो गर्न छाडेको छ । ‘हचुवाको भरमा करनीति लिने, बजेटमा महत्त्वाकांक्षी लक्ष्य राख्ने अनि उक्त लक्ष्य भेट्नुपर्ने नाममा राजस्वमा ठूलो योगदान गरिरहेको निजीक्षेत्रलाई घेराबन्दी गरेर पेल्ने नीति सरकारले लिएको छ,’ अध्यक्ष टेमानी भन्छन्, ‘यसले निजीक्षेत्रलाई झन् समस्यामा पारेको छ । सरकारले आयकर ३६ प्रतिशतबाट ३९ प्रतिशत गर्यो । ३६ प्रतिशतमै हुँदा हामीले राज्यलाई यो व्यावहारिक छैन २० प्रतिशतमा झारियो भने कसैले दायाँबायाँ गर्दैन, सबैले तिर्छन् भन्यौं तर उसले सुनेन ।’
दर जति बढायो कर त्यत्ति बढी उठ्छ भन्ने मनोविज्ञान सरकारी मान्छेमा रहेको र बढाएको कर उठाउन राज्यले आफ्ना संयन्त्रमार्फत उद्योगपतिलाई घेराबन्दी गरिरहेको उनले गुनासो गरे । ‘यसबाट उद्योग क्षेत्र तहसनहस भइसक्यो, देश नै ठूलो आर्थिक संकटमा फस्ने खतरा बढ्यो,’ उनले भने ।
टेमानीका अनुसार अव्यावहारिक करनीति र बैंकहरूको ज्यादतीले उद्योग क्षेत्र अत्यन्तै अप्ठ्यारोमा फस्दै गएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा पनि लुम्बिनीका उद्योगधन्दा, कलकारखानामा समेत राज्यको ‘कर आतंक’ बढेको बताउँछन् । राज्यले लिएको राजस्वको लक्ष्य ५० प्रतिशत पनि प्राप्त नहुने अवस्था आएपछि सरकारले उद्योगधन्दामाथि कर आतंक बढाएको उनको भनाइ छ । ‘बजारले गति लिएको छैन । हामी बैंकलाई साँवाब्याज तिर्ने कि सरकारलाई कर तिर्ने भन्ने अवस्थामा पुगिसक्यौं,’ उनले भने, ‘असोज मसान्तमा अर्को दुर्घटनाको अवस्था आउँदै छ । बैंकसँग पैसा छ भन्छ, ब्याजदर घट्दैन, ऋण लिन सक्ने अवस्थै छैन । यस्तोमा उद्योगधन्दा, कलकारखाना कसरी चलाउने ?’
सरकारले मुलुकमा उद्योगधन्दा, कलकारखाना टिकाउनुभन्दा पनि युवालाई विदेश पठाउन र विप्रेषणलाई प्रमुख आयका रूपमा हेर्न थालेपछि देशभित्रका उद्योगधन्दामा समस्या गहिरिएको उनको बुझाइ छ । अन्य ठूला करदातालाई समेत कर अधिकारीले पटकपटक फोन गरेर अग्रिम कर बुझाउन ताकेता गरिरहेको बुझिएको छ ।
‘ठूला करदाता कार्यालयबाट धेरैपटक अग्रिम कर बुझाउन फोन आयो । अघिल्लो महीना कठिन भयो । यो महीना नबुझाई सुख छैन,’ नाम नबताउने शर्तमा एक उद्योगीले भने ।
विश्वव्यापी मन्दीको असर नेपालको अर्थतन्त्रमा देखिएको र यसमा सरकारले आम्दानी घटेको नाममा यसरी निजीक्षेत्रलाई पेल्न नहुने नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल बताउँछन् । उनका अनुसार अहिलेको समस्या निजीक्षेत्रले सृजना गरेको होइन, विश्वव्यापी मन्दीको असरका कारण धेरै उद्योगी, व्यापारी पलायन भएका छन् । राज्यले उद्योग व्यवसायको संरक्षण गर्ने नीति ल्याउनुपर्ने अग्रवालले बताए । ‘सरकारले आम्दानी घटेको नाममा दबाब दिनु उचित हुँदै होइन । यसले नेपालको उद्योग व्यापार क्षेत्र झन् तहसनहस हुने खतरा छ,’ अग्रवालले भने ।
सरकारको आम्दानी उद्योगी व्यापारीले कर नतिरेरभन्दा पनि आन्तरिक तथा बाह्य कारणले सन्तोषजनक नभएको हो । कोभिड महामारी, रूस–युक्रेन तनावदेखि विश्वव्यापी व्यापारमा आएको गिरावटको असर अर्थतन्त्रमा देखिए पनि सरकारले नीतिगत सुधारमा ध्यान नदिएको उनको गुनासो छ ।
पछिल्ला महीनामा सरकारको आम्दानी लक्ष्यअनुसार हुन गरेको छैन । सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार यस वर्ष भदौसम्म सरकारले राजस्व र अन्य आम्दानीमार्फत १ खर्ब ५४ अर्ब २३ करोड रुपैयाँ संकलन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ८ अर्ब ७८ करोड रुपैयाँ कम हो । यस वर्ष भदौसम्म राजस्वबाट १ खर्ब ४१ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । यो कुल लक्ष्यको ९ दशमलव ९२ प्रतिशत मात्र हो । गत आर्थिक वर्षको भदौसम्ममा १ खर्ब ४३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।
यस वर्ष सरकारले अझै अनुदान प्राप्त गर्न सकेको छैन । अन्य आम्दानीबाट भदौसम्म १३ अर्ब १५ करोड रुपैयाँ प्राप्त गरेको छ । यो वर्ष सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
राजस्व कम उठेको नाममा सरकारले निजीक्षेत्रलाई कर तिर्न चर्को दबाब दिइरहे पनि अर्थका अधिकारीहरू यसबारे खुलेर बोल्न चाहँदैनन् । अर्थ मन्त्रालयको राजस्व महाशाखाका एक उच्च अधिकारीले सरकार आफै दबाबमा रहेको बताए । ‘चालू खर्चसमेत धान्न नसक्ने अवस्था आउने चिन्ता उत्पन्न हुन थाल्यो, जसको असर तल पर्न गएको हुनसक्छ,’ उनले भने । ती अधिकारी अहिलेको मन्दीलाई निजीक्षेत्रले पनि बुझिदिनुपर्ने तर्क गर्छन् । ‘राज्य सञ्चालनलाई सहज बनाउन उद्योगी व्यापारीले पनि सरकारलाई सघाउन गर्न जरुरी छ,’ उनले भने ।
चुहावट रोक्ने प्रयास
आम्दानी घटेसँगै सरकार राजस्व चुहिने छिद्र टाल्न सक्रिय भएको छ । राजस्व चुहावट नियन्त्रण गर्न गृह र अर्थ मन्त्रालयले सक्रियता बढाएको देखिन्छ । भदौ अन्तिममा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक डाकिएको थियो । यो अर्थमन्त्रीको सक्रियतामा थियो । बैठकले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्नुको विकल्प नरहेको निष्कर्ष निकालेको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा सम्पन्न समिति बैठकले राजस्व चुहावटको पछिल्लो प्रवृत्ति विश्लेषण गरी नियन्त्रणका ठोस उपायसहितको कार्ययोजना तयार गरी समितिमा पेश गर्न राजस्व सचिव संयोजक र राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवं विभागीय प्रमुखहरू सदस्य रहको कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको संयोजन अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले गरिरहेको छ । कार्ययोजना बनिसकेको र समितिमा पेश गर्ने तयारी भएको अर्थका अधिकारीहरूले बताए ।
अर्थमन्त्री महतले आम्दानी बढाउन चोरी पैठारी नियन्त्रणका लागि सम्बद्ध निकायबीच उच्च स्तरको समन्वय कायम गर्ने र संवेदनशील नाकामा आकस्मिक गस्ती बढाउने निर्णय समिति बैठकबाट गराएका छन् । त्यसैगरी राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सम्बद्ध सबै निकायले योजना बनाउने, राजस्व चुहावट नियन्त्रणमा संलग्न जनशक्तिको कार्यसम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने, पैठारीको परिमाणमा अस्वाभाविक कमी आएका वस्तुको बजार उपलब्धता अध्ययन गरी त्यस्ता वस्तुको चोरी पैठारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनाउने र चोरी पैठारी हुनसक्ने संवेदनशील नाकामा विशेष निगरानी राख्ने निर्णय समितिले गरेकाले त्यसलाई लागू गराउन अधिकारीहरू परिचालन भएका छन् ।

हचुवा करनीतिले समस्या
सरकारले आयकर ३६ प्रतिशतबाट ३९ प्रतिशत गर्यो । ३६ प्रतिशतमै हुँदा हामीले राज्यलाई यो व्यावहारिक छैन २० प्रतिशतमा झारियो भने कसैले दायाँबायाँ गर्दैन, सबैले तिर्छन् भन्यौं । तर, राज्यले सुनेन । करको दर जति बढायो त्यति बढी उठ्छ भन्ने सरकारले बुझ्यो र बढाएको कर उठाउन उसले आफ्ना संयन्त्रमार्फत उद्योगपतिलाई घेराबन्दी गरिरहेको छ । यसले उद्योग क्षेत्र तहसनहस भइसक्यो । देश नै ठूलो आर्थिक संकटमा फस्ने खतरा बढेको छ ।
अशोककुमार टेमानी
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश
साँवाब्याज तिर्ने कि

अग्रिम कर ?
राजस्व लक्ष्य प्राप्त नहुने भएपछि सरकारले कर आतंक बढाएको छ । बजारले गति लिएको छैन । हामी बैंक ऋणको साँवाब्याज तिर्ने कि सरकारलाई कर भन्ने अवस्थामा छौं । असोज मसान्तमा अर्को दुर्घटना हुँदैछ । बैंकसँग पैसा छ भन्छ, ब्याजदर घट्दैन, ऋण लिन सक्ने अवस्था छैन । यस्तोमा उद्योगधन्दा कसरी चलाउने ? मन्दीले चल्न नसकेका कतिपय उद्योगको खातापाता कर तिर्न नसकेपछि सरकारले रोकिसक्यो । उद्योग चलाउनै मुश्किल परेका बेला अग्रिम कर कसरी तिर्ने ?
कृष्णप्रसाद शर्मा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश
साभार, आर्थिक अभियान दैनिक

