प्रेस चौतारी नेपालले संगठनको नीति र निर्णय विपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा चार पत्रकारलाई प्रेस चौतारीबाट पाँच वर्षका लागि सधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारीका उम्मेदवारविरुद्ध सक्रिय भएको भन्दै पर्साका अनुप तिवारी, बाँकेका रूद्र सुवेदी, सिन्धुपालचाेकका दिनेश थापा र एशाेसिएट प्रदेशका मनुका कुँवरलाइ कारबाही गरिएको जनाएकाे छ । चाैतारीकाे बैठकले निर्णयमा विरोधी संगठनको योजना अनुसार उम्मेदवार बन्ने, संगठनको निर्णय विरुद्ध लाग्ने र नेतृत्वलाई सामाजिक सञ्जालमा आपत्तिजनक आक्षेप लगाउने लगायतका अनुशासनहीन र विद्यान विरोधी काम गरेको अभियोग प्रमाणित भएकाले कार्वाही गरिएको भनिएको छ ।
त्यस्तै, महासंघको निर्वाचनमा संगठनको निर्णयविपरीत उम्मेदवारी दिएका प्रस्तावक र समर्थकलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय चौतारी केन्द्रीय कमिटीको बैठकले गरेको छ ।
प्रेस चौतारीले संगठनको अनुशासन सुदृढ गर्न कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । संगठनले आगामी दिनमा आफ्नो गतिविधि र निर्णयलाई अझ प्रभावकारी बनाउँदै जाने बताएको छ ।
समाचार
पत्रकार महासंघ पर्सा र वीरगञ्ज कलेजको सहकार्यः पत्रकारलाई ५ हजारमै प्लस टु पढाउने
वीरगञ्ज । नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेज, श्रीपुरबीच शैक्षिक, सामाजिक र पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार दुवै पक्षले पर्सा जिल्लाको शैक्षिक, सामाजिक र अर्धराजनीतिक क्षेत्रमा प्रगतिका लागि संयुक्त प्रयास गर्ने सहमति गरेका छन् ।
शैक्षिक क्षेत्र सुधारका लागि बहस र अन्तरक्रियाका कार्यक्रमहरू आयोजना गरिनेछ भने पत्रकारिता क्षेत्रको प्रवद्र्धन र पत्रकारहरूको दक्षता अभिवृद्धिमा विशेष पहल गरिने सम्झौता पत्रमा उल्लेख छ।
समझदारी अनुसार, पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूको क्षमता विकासका लागि वीरगञ्ज कलेजले पत्रकारिता विषयमा अध्ययनको विशेष व्यवस्था गर्नेछ । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य तथा सञ्चारकर्मीले कक्षा ११ र १२ अध्ययनका लागि वार्षिक रु. पाँच हजारमा अध्ययन गर्न पाउनेछन् । यसबाहेक, राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाणपत्र शुल्क भने विद्यार्थी आफैंले व्यहोर्नुपर्नेछ ।
दुवै पक्षले स्थानीय सरोकारका विषयमा सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने र आवश्यकताअनुसार अन्य सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने सम्झौता भएको नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेलले जानकारी दिइन् । उपाध्यक्ष पौडेलकाअनुसार तीन शैक्षिक सत्रसम्म लागू हुने यस समझदारीलाई आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा थप समयावधि बढाउन सकिनेछ ।
नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष ओमप्रकाश खनाल र वीरगञ्ज कलेजका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । महासंघको सदस्यताका लागि प्लस टु सम्मको शैक्षिक योग्यता अनिवार्य गरिएको र वीरगञ्ज कलेजले प्लस टु मा पत्रकारिता संकाय सञ्चालन गरेको हुँदा सम्झौता गरिएको अध्यक्ष खनालको भनाइ छ ।
सत्तारुढ नेकपा एमालेको मधेश प्रदेशमा गुटबन्दी चरममा छ । संघीय गुटबन्दी अनुसार नै मधेश प्रदेशमा महासचिव शंकर पोखरेल समूह भारी देखिएको छ । विष्णु पौडेल गुटलाई धक्का लागिरहेको छ ।
मधेश प्रदेशमा पौडेल गुटको नेतृत्व सचिव रघुबीर महासेठले गरिरहेका छन् । पोखरेल गुटको कमाण्डर प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ रहेका छन् । पछिल्लो पटक पर्सा जिल्लाको सखुवा प्रसौनीमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित जसवंत यादवलाई पाखा लगाउन पोखरेल गुटमा रहेका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जसपा नेपालबाट अध्यक्षमा पराजित भएका प्रदीप जयसवाललाई भित्र्याएका छन् ।
प्रदीप जयसवाल युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालका साख्यै भाई हुन् । स्वतन्त्र रुपमा प्रदेश सभामा निर्वाचित जयसवाल एमालेमा प्रवेश गर्दै शिक्षा तथा संस्कृति मन्त्री बनेका थिए । हाल उनी युवा तथा खेलकुद मन्त्री छन् । भ्रष्टाचारमा चुर्लुम्म डुबेका जयसवाललाई सरकारबाट हटाउन प्रदेश संसदीय दलका नेतामाथि दबाब बढिरहेको बेला भाईलाई पार्टी प्रवेश गराएर साख बचाउने प्रयास गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भारी माला लगाएर भाईलाई प्रवेश गराएपछि पालिका अध्यक्ष यादव बिच्किएका छन् । मन्त्री गुप्ता र जयसवालले आगामी दिनमा आफूलाई कमजोर बनाउन प्रदेश मन्त्रीले भाईलाई प्रवेश गराएको टिप्पणी गर्न थालेका छन् । उनी पनि महासचिव पोखरेल गुटमा नै रहेका छन् ।
मन्त्री गुप्ता पौडेल खेमा छाडेर पोखरेल खेमा ज्वाइन गरिसकेका छन् । महासेठले पत्नी जुली महतोलाई मन्त्रीका लागि अगाडि बढाएपछि गुप्तालाई विश्वासमा लिएर श्रेष्ठले मन्त्री बनाएको बताइन्छ । पर्सामा पौडेल पक्षधर जालिम मियाँ, बसरुद्दिनले खेमा परिवर्तन गरी पोखरेल पक्षमा खुलेका छन् । समग्रमा पर्सामा पोखरेल पक्ष बलियो देखिएको छ ।
मधेश प्रदेशमा पछिल्लो पटक पोखरेलको कार्यक्रममा सक्रियता बढेको छ । हरेक जिल्लामा उनको स्वागत भव्य हुन थालेको छ ।पौडेलको सक्रियता कम भएको छ । मधेश प्रदेशको ८ जिल्ला मध्ये ३ जिल्लामा नेतृत्वको चुनाव हुन सकेको छैन । चुनाव हुन नसकेको जिल्लाहरुमा सचिव महासेठको गृह जिल्ला धनुषा, इञ्चार्ज श्रेष्ठको गृह जिल्ला सिरहा र नेता सुमन प्याकुरेलको गृह जिल्ला सप्तरी रहेका छन् ।
तीनै जिल्लामा सदस्यतामै भारी विवाद देखिएको छ । जिल्ला निर्वाचनका लागि पटक पटक तयारी भए पनि हाल सम्म चुनाव हुन सकेको छैन । जिल्लामा निर्वाचन भए नेताहरुको विपक्षमा निर्णय हुन सक्ने आँकलन गरिएको छ । सचिवसमेत रहेका पूर्वउपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री महासेठले धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेलाई बलियो बनाएका नेता उमाशंकर अरगडिया र संजीव झा ‘सुरज’लाई कमजोर बनाउन हालै गरेको सभामा कटु आलोचना गरेका थिए ।
क्षेत्र नम्बर २ मा कमजोर रहेका महासेठले अरगडिया र झाको समय गइसकेको अभिव्यक्ति दिएर पार्टीको विवादलाई छताछुल्ल बनाए । प्रदेश सरकारमा महासेठ समर्थकहरु प्रवेश पाएका छैनन् । श्रेष्ठ र प्याकुरेलको तालमेल प्रभावकारी भएको छ ।
मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको भूमिकाले पोखरेल समूह सशक्त बनेको बताइन्छ । युवा नेता यादवले हालै महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेललाई आमन्त्रण गरेर भव्य स्वागत गरे ।
सखुवा प्रसौनीमा भएको पार्टी प्रवेशको भन्दा विशाल रामगोपालपुरको कार्यक्रम रहेको थियो । यद्यपि दुवै कार्यक्रममा महासेठको उपस्थिति थिएन । मधेश प्रदेश सभामा एमाले सबै भन्दा ठूलो दल छ । प्रदेश सरकारको नेतृत्व जनमत पार्टीका सतीश कुमार सिंहले गरे पनि प्रभाव एमालेकै देखिन्छ ।
एमालेले नियन्त्रण सरकारमाथि बढी रहेकाले सत्ता गठबन्धनका साझेदार नेपाली कांग्रेस असन्तुष्ट देखिन्छ । एमालेको संगठनात्मक अवस्था कमजोर नभए पनि गुटबन्दीमा लागेका नेताहरुको कारण आगामी चुनावमा प्रतिकूल प्रभाव पर्नेमा तल्लो तहका नेताहरु चिन्तित देखिन्छन् । पोखरेल र पौडेलको छायाँ परेको एमाले मधेश प्रदेशमा ठूलो क्षति हुने देखिन्छ ।
चुनाव हुन नसकेको तीन जिल्लामा पुरानै कमिटीले काम चलाइरहेको छ । चुनावको चर्चा पनि हुन छाडेको छ । नेताहरु पनि चुनाव गराउने मनस्थितिमा छैनन् ।
काठमाण्डौ, नेपाल – राष्ट्रिय एकता अभियान नेपालले आफ्नो संगठनलाई थप मजबुत बनाउन संविधान सभा सदस्य माननीय भूपेन्द्र चौधरीलाई उपाध्यक्षको रुपमा चयन गरेको छ । अभियानको केन्द्रीय बैठकमा सर्वसम्मत निर्णय गर्दै चौधरीलाई यो जिम्मेवारी सुम्पिएको हो ।
मा.भूपेन्द्र चौधरीले संविधान सभामा आफ्नो प्रभावशाली भूमिका निर्वाह गर्दै राष्ट्रिय एकता र समावेशीताको पक्षमा काम गरेका छन्। उनी लामो समयदेखि सामाजिक न्याय,संघीयता,समानता र मानव अधिकारका मुद्दामा सक्रिय रहँदै आएका छन् ।
कार्यक्रममा अभियानका अध्यक्ष विनय यादवले चौधरीको नेतृत्वदायी क्षमताको प्रशंसा गर्दै भने, “भूपेन्द्र चौधरीजस्ता अनुभवी र समर्पित व्यक्तित्वको सामेलले हाम्रो अभियानलाई थप उचाइमा पु¥याउने विश्वास छ ।
“कार्यक्रममा अन्य विशिष्ट व्यक्तिहरू, पनि सहभागी थिए। उनीहरूले चौधरीलाई बधाई दिंदै अभियानका उद्देश्यलाई साकार पार्न योगदान गर्न आग्रह गरे।
राष्ट्रिय एकता अभियान नेपालले मुलुकको विविधता र एकताको संरक्षण गर्दै सामाजिक सद्भावलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ। भूपेन्द्र चौधरीको उपाध्यक्ष पदमा चयनले अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरेका कोइरालासहित नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्किएका हुन् । देशको सार्वभौमसत्ता संरक्षणका लागि बीपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्किएका थिए ।
विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि विसं २०२५ मा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका हुन् ।
विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।
सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ ‘आत्मजीवनी’ र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) लेखेका छन् ।
बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्त्तकका रूपमा चिनिन्छन् । विक्रम संवत २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो ।
दिवसका अवसरमा कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । संभार, स्वतन्त्र समाचार सेवा
तराई मधेसका धेरै ठाउँमा कुहिरोसँगै चिसो स्याँठ चल्न थालेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले तराई मधेसका धेरै ठाउँ र काठमाण्डौ उपत्यकाको केही ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको कुहिरो केहीबेरमा हटेर दिउँसो घाम लाग्दै जाने तर तराईमा अबेरसम्म रहने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।कुहिरोसँगै चिसो स्याँठ पनि चल्न थालेको तराईका क्षेत्रमा स्थानियवासीको दैनिकीमा समस्या हुन थालेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महराले केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताउनुभयो ।चिसोले चौपाया, पशुपन्क्षी तथा बालीनालीलाई पनि असर पुर्याएको छ । चिसोकै कारण अस्पतालमा बिरामीको सङ्ख्यामा बढ्न थालेको छ ।
चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित हुने भएकाले ख्याल गर्नुपर्ने डा.रवीन्द्र साहले बताउनुभयो । तराईमा चिसोसँगै शीतलहरबाट विगतमा कतिपयले ज्यान गुमाउने गरेका थिए । जल तथा मौसम पूर्वानुमान महाशाखाले यसवर्ष अहिलेसम्म आधिकारिक रुपमा शीतलहर चलिसकेको पुष्टि गरेको छैन । आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ
वीरगञ्ज । वीरगञ्जको आईसीपी भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ५ महीनामा लक्ष्यको झण्डै ७४ प्रतिशत राजस्व उठाएको छ । चालू आवको साउनदेखि मंसिरसम्मको यो भन्सारबाट ६४ अर्ब ५९ करोड रुपैयाँ राजस्व उठेको हो ।
देशको मुख्य नाकामा रहेको भन्सार कार्यालयलाई सो अवधिका लागि ८७ अर्ब ३३ करोड रुपैयाँ उठाउने लक्ष्य तोकिएको थियो । भन्सारले गत आवको समीक्षा अवधिको लक्ष्य र प्रगतिको तुलना गर्दा यो वर्ष उठाएको राजस्वको आकार ११ प्रतिशतले बढी हो ।
आव २०८०/८१ मा भन्सारले लक्ष्यको करीब ६३ प्रतिशत उठाएको थियो । त्यसबेला ९८ अर्ब ५६ करोड रुपैयाँ लक्ष्य दिइएकोमाा ६१ अर्ब ९९ करोड रुपैयाँ संकलन भएको भन्सारको बेभसाइटमा प्रकाशित तथ्यांकमा उल्लेख गरिएको छ ।
गत आवको तुलनामा चालू आवका लागि भन्सारले उठाउनुपर्ने राजस्व लक्ष्यको आकार भने घटेको देखिन्छ । भन्सार विभागले चालू वर्षको साउनदेखि मंसिरसम्मका लागि करीब ११ अर्ब रुपैयाँ लक्ष्य घटाएको छ ।
१३ शीर्षकमा राजस्व
यो भन्सारले विभिन्न १३ शीर्षकमा राजस्व लिएको देखिन्छ । सबैभन्दा बढी मूल्यअभिवृद्धितर्फ उठाएको छ । मूल्यअघिवृद्धि कर २६ अर्ब १८ करोड रुपैयाँ संकलन भएको छ । भन्सार महशुल २४ अर्ब ८ करोड रुपैयाँ उठाएको छ । अन्तःशुल्क ४ अर्ब ८० करोड रुपैयाँ उठेको छ ।
पोखरा असोज ६ – पोखरामा भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन आज सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियान, पोखराको आयोजनामा जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि (सहिद चोक) मा आयोजित धर्नामा १५० भन्दा बढी सहभागीले विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र नागरिक उड्यन प्राधिकरणका भ्रष्ट्र महानिर्देशकलाई बर्खास्त गर्न माग गरे।
धर्नाको नेतृत्व जिल्ला संयोजक टिका छिरिंगले गरेका थिए भने केन्द्रीय सदस्य ध्रुव चालीसे, केन्द्रीय अध्यक्ष विनय यादव, र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले “पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपले संचालन गर”, “विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानवीन गर”, “नागरिक उड्यन प्राधिकरणका असफल तथा भ्रष्ट्र महानिर्देशकलाई भर्खास्त गर”, “चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर” लगायतका नारासहित प्लेकार्ड बोक्दै नारा जुलुस गरेका थिए।
प्रदर्शनकारीहरूले पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्ण संचालन र निर्माणमा भएको प्राविधिक त्रुटिको समाधान गर्न जोडदार माग राखेका छन्। साथै, विमानस्थलको निर्माणमा लागेको चर्को ब्याजदरको ऋणलाई अनुदानमा परिणत गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्।
उक्त धर्ना कार्यक्रममा पोखराका नागरिकहरूले भ्रष्टाचारविरुद्धको आवाजलाई बलियो बनाउँदै, विमानस्थल सञ्चालन र भ्रष्टाचारको छानवीनमा तत्काल कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।
विराटनगरमा आज भव्य रथयात्रा निकालिदैं
वीरगंज । विराटनगरमा आज(बिहीबार) राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज अपरान्ह करिब ३ बजेबाट सुरु हुनेछ । ५५ वर्षयता हुँदै आएको रथयात्रामा आज ६ लाखभन्दाब ढी नै भक्तजन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो । रथयात्राका लागि २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ। भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ। दायाँतर्फबाट पुरुष तथा बायाँतर्फबाट महिलाले रथ तान्ने रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।
विराटनगरको मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर रथयात्रा समापन गरिने छ। विभिन्न ६० वटा झाँकीसहित निकालिने रथलाई ४३ स्थानमा विश्राम दिइने उनले बताए। विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित भक्तजनको उपस्थितिले रथयात्रा भव्य हुने छ। रथयात्रालाई थप उल्लासमय बनाउन सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। वि.सं १९८८ मा मन्दिरबाट खटयात्रा सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रा गरिँदै आएको छ । रथयात्रासँगै खटयात्रा पनि गराइनेछ । रथयात्रामा नेपाल र भारतका भक्तजनसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि सहभागी हुदैछन् । रथयात्रामा सहभागी हुन वीरगन्जका मेयर सिंहसंगै नेपालका विभिन्न जिल्लााका १३ वटा पालिकाका प्रमुखहरु विराटनगर पुगिसकेका छन् ।
आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । रथयात्राको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । अत्यधिक जनसहभागिता हुने रथयात्रामा प्रहरीले सुरक्षा सतर्कता पनि अपनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ । मोरङ प्रहरी प्रवक्ता रन्जन दाहालले सम्भावित जोखिम नियन्त्रणका लागि सतर्कता अपनाइएको बताए । भिडभाडमा आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारीलगायतका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उनले आग्रह गरे । प्रहरीले बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ ।
अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल सिल
वीरगंज । विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उनले भने,“स्वास्थ्य बिषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले नियन्त्रणमा लिएका छौं ।
यो बिषयमा थप अनुसन्धान भइरहेको छ । ” मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि विक्रि गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकलहरु सिल गरिएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । मेडिकलहरुले अवैध रुपमा सञ्चालन गरिएका भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय अनुगमन कार्यलाई तीव्रता दिइएको छ ।
