वीरगञ्ज । लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा सोमवार वीरगंज एरियामा रहेका लायन्स क्लबहरुले मेल्भिन जोन्स डे मनाएका छन् ।
मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा लायन्स क्लब अफ वीरगंजले आयोजना गरेको जन्म दिवस कार्यक्रम लायन्स क्लब इन्टरनेशनलका पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन सुनिल गुप्ताले गर्नु भएको थियो ।
कार्यक्रमलाई लायन्स क्लब इन्टरनेशनलका मल्टिपल डिष्ट्रिक्ट कोर्डिनेटर लायन डा. रमेश अग्रवाल, डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन आर. पी. खेतानले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादवले दिनु भएको थियो भने कार्यक्रमको औचित्यबारे एरिया चिफ कोर्डिनेटर लायन श्याम गुप्ताले प्रकाश पार्नु भएको थियो ।
सोही अवसरमा लायन्सका संस्थापक मेल्भिन जोन्सको जीवनी र योगदान बारे समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा विभिन्न लायन्स क्लब र लिडरहरुलाई पिन तथा अवार्डबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ लायन संदिप केडिया, लायन बासु तिमिल्सिना, लायन अनुज रूङ्गटा, डिष्ट्रिक्ट को-चिफ एडभाइजर लायन मनोहर टिबडेवाल, डिष्ट्रिक्ट चिफ लायन उमेश साह कानु, लायन विजय गुप्ता, लायन उमेश शर्मा, एरिया ट्रेजर लायन बिनित जैसवाल, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सल्मा खातुन, लायन सन्दिप साह कानु, डिष्ट्रिक्ट कोर्डिनेटर लायन किरण अग्रवाल, लायन मिनादेवी टिबडेवाल, लायन भानुभक्त अधिकारी, लायन लक्ष्मी थापा, लायन सुशिला साह, लायन देबयन्ती साह, लायन कविता खड्का, लायन रोशन गुप्ता, लायन नरोत्तम पाण्डे लगायत लायन्स क्लबका अन्य पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सोही अवसरमा लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा केक काटेर सप्ताह ब्यापी कार्यक्रम समापन गरिएको थियोे ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगञ्जका दिलीपकुमार पण्डितले गर्नु भएको थियो ।
अर्थ
२८ पुस,वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिने भएको छ । आइतबार बसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले पंकज श्रेष्ठलाई पुरस्कार वितरण निर्णय गरेको छ ।
गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापना भएको पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।
गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष भएका थिए । तत्कालिन वीरगञ्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो ।
उनै गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको शाखा अध्यक्ष ओमप्रकाश खनालले जानकारी दिए । श्रेष्ठ कान्तिपुर टेलिभिजन पर्साका क्यामरा प्रर्शनको रुपमा कार्यरत रहेका छन् ।
वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, विजयपथ र ग्रीन क्याम्पसले आइतबार वीरगञ्ज कपडा बैङ्कलाई कपडा सहयोग गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका रिजन चेयरपर्सन लायन विजय कुशवाहा, डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादव, जोन चेयरपर्सन लायन सल्मा खातुन, एरिया चिफ लायन श्याम गुप्ता, लायन विनित जयसवाल, लायन उमेश साह कानुले कपडा बैङ्कको कार्यालय मै पुगेर २ बोरा र १ झोला कपडाहरु बैङ्कका अध्यक्ष लालबाबु सिंहलाइ हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा वीरगञ्ज कपडा बैङ्कका सचिव कन्हैया पटेल, सदस्य अभिलाश गुप्ता र कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।
जोन चेयरपर्सन लायन सल्मा खातुनले वीरगञ्ज कपडा बैङ्कले विगत लामो समय देखि दिन दु:खी असहाय, आगलागी तथा बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवा भाव प्रती कृतज्ञता ज्ञापन गरिन् ।
उनले भनिन्, ‘हामी कपडा बैङ्कको कामदेखि असाध्यै खुशी छौ र अहिले चिसोको समयमा बिपन्न असहायहरुलाई न्यानो कपडाको आवश्यक्ता पर्ने हुँदा त्यही अवस्थालाई लक्षित गरेर हामीले केही कपडा सहयोग गरेका हौँ ।’वीरगञ्ज कपडा बैङ्कलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै उनले अरुलाई पनि सकेसम्म सहयोग गर्न अपिल गरिन् ।
सेस्मी स्कुलकी प्रिन्सीपल समेत रहेकी लायन आश्मा सिंह यादवका अनुसार दिन दुःखी असहायको सेवा गर्नु नै मानवता हो । यही मन्त्रमा आधारित रहेर लायन्स क्लबले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको उनले बताइन् ।
लायन्स क्लब वीरगञ्ज सेस्मी एकेडेमीद्वारा बाल क्यान्सर सचेतना कार्यक्रमको आयोजना
वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र विजयपथको संयुक्त साझेदारीमा बाल क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा आईतबार वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी स्कुलमा आयोजित कार्यक्रममा सेस्मी स्कुलका कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत बालबालिकाहरुको सहभागिता रहेको थियो ।
क्यान्सर रोग विशेषज्ञ डा. रुपेश थापा क्षेत्रीले सचेतनामूलक प्रस्तुति दिएका थिए ।
यस्ता कार्यक्रमले समुदायमा बाल क्यान्सरबारे सचेतना जगाउन सहयोग पुग्ने लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादवको विश्वास छ ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस एरिया नम्बर ३ का प्रमुख लायन श्याम गुप्ता, डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादव, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सल्मा खातुन, लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीका अध्यक्ष लायन अशोक बेरिवाल, सुप्रिमका अध्यक्ष लायन पियुष दारुका, ह्यूमानिटीका अध्यक्ष लायन पशुपति भट्ट, डिजिटल मार्केटिङ्ग संयोजक लायन नरोत्तम पाण्डे, लायन प्रदीप अग्रवाल, लायन अंकित चौरसिया लगायतको सहभागिता रहेको थियो ।
पक्राउ गरेको भैँसी राँगा छाड्न सशस्त्र प्रहरीले दुई लाख रुपैयाँ माग गरेको आरोप लगाएको छ । जितपुरका भैँसी व्यापारी मोहम्मद हासिम अन्सारीले यस्तो आरोप लगाएका हुन् ।
वीरगञ्जमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले सशस्त्र प्रहरीले भैँसी राँगा छाड्न दुई लाख माग गरेको बताए । सशस्त्र प्रहरीले अनावश्यक रुपमा भैँसी व्यापारीलाई दुःख दिएको बताउँदै व्यापारी मोहम्मद हासिमले भने, ‘भैँसी ढुवानी गर्ने ट्रकका चालक र भैँसी धपाउने गोठालासँग सशस्त्र प्रहरीले दुईलाख रुपैयाँ दिए भैँसी छाड्ने कुरा गरिएको थियो, हामी मानेनौँ दुःख दिने काम शुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिखमपुरले शुक्रबार ट्रक सहित ११ वटा भैँसी र ९ वटा राँगा नियन्त्रणमा लिएको थियो । भारतबाट तस्करी गरिएको आशंकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भिखमपुरले शुक्रबार ना ७ ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका भैँसी र राँगासहित दुई जनालाई पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा रहेको पाडा बजारबाट नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्लामा पठाएको थियो ।
सशस्त्र प्रहरीले भने नियन्त्रणमा लिइएको भैँसी र पाडा सम्बन्धित निकायले नै अनुसन्धान कारबाही गर्ने जनाएको छ । तस्करी भएको सूचनाको आधारमा नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको जनाएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिने गरेकोले त्यसपछि वैध हो वा अवैध हो भन्ने अनुसन्धान गर्ने निकायले नै निक्र्योल गर्ने बताए । उनले कागजपत्र र प्रक्रिया मिलेको नमिलेको विषयमा सशस्त्र प्रहरीलाई अधिकार नभएकोले नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाउने काम मात्रै सशस्त्र प्रहरीको रहेको बताए ।
भन्सारले बुझ्न नमाने कारण सहित खुलाएर लेखेर दिनुपर्ने सशस्त्र प्रहरी उपरीक्षक धिमालको भनाइ छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भैँसी र राँगाको कागजपत्र हेर्दा सबै दुरुस्त रहेको पाइएको बताए । उनले सरसर्ती हेर्दा कागजपत्र सबै देखिएको छ । भीसीटीएस, भेटनरी, वडाको सिफारिसलगायतका सबै कागजपत्र भएकोले सो भँसी राँगा तस्करी नभएको जस्तो देखिएकोले फिर्ता गरिएको बताए ।
२८ पुष, वीरगञ्ज । जिल्ला बचत तथा सहकारी संघ पर्साको अध्यक्षमा हरेराम पटेल निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा हरेराम पटेलले आफ्ना प्रतिद्वन्दी राकेश यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा जिस्नु बराल, उपाध्यक्षमा नगनारायण सिंह, महासचिवमा राजिव कुमार साह सोनार, कोषाध्यक्षमा अरुण कुमार साह निर्वाचित भएका हुन् ।
११ जना कार्यसमिति र ३ जना लेखा समिति गरी १४ पदका लागि सम्पन्न निर्वाचनमा २८ जनाको उम्मेदवारी परेको थियो ।
‘तस्करी आधारित निर्यात’
अनिल तिवारी
तराईसहित सीमावर्ती भारतीय गाउँ बजारमा अहिले गाईभन्दा भैँसीको मूल्य आकासिएको छ। भैँसीको मूल्य दिनप्रतिदिन सुनजस्तै उचालिँदै गएको छ। पहिले भैँसीको मूल्य त्यसले दिने दूधका आधारमा निर्धारण गरिन्थ्यो, तर हाल भैँसीको मूल्यांकन त्यसको मासुको परिमाणबाट गरिन्छ। यसको मुख्य कारण हो— तराई क्षेत्रमा खुलेका चिनियाँ स्लाटर उद्योग। नेपालगञ्ज, वीरगञ्ज, विराटनगरजस्ता क्षेत्रका आसपासमा चिनियाँ लगानीमा सञ्चालित आधा दर्जनभन्दा बढी भैँसी तथा राँगाको मासु–छाला उद्योग एक दशकदेखि सञ्चालनमा छन्। ती उद्योगको प्रमुख उद्देश्य भारतबाट तस्करी गरिएका भैँसी र राँगाको मासु तथा छालालाई चीन निर्यात गर्नु हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालबाट भैँसीको प्रशोधित मासु निर्यात गर्ने प्रोटोकलमा हस्ताक्षर भएको छ। यसपछि कृषि तथा पशुपन्छी मन्त्रालयले मासु निर्यातका लागि प्रक्रिया अघि बढाएको छ।
प्रधानमन्त्री ओलीको भ्रमणपछि सरकारले यो सम्झौताले नेपाललाई चीनजस्तो ठूलो बजारमा अवसर दिलाउने दाबी गरे पनि यो व्यापारले खासगरी तराईमा सञ्चालन भइरहेका चिनियाँ उद्योगलाई फाइदा पुर्याउने संकेत देखिन्छ। देशभित्रै मासुको माग धान्न नसक्ने अवस्था रहँदा सरकारको यो कदम नेपाली हितका लागि कम र विदेशी उद्योगहरूका लागि बढी लाभदायक देखिन्छ।
चीनसँगको समझौताको यथार्थ पक्ष
तराईका चिनियाँ स्लाटर हाउसहरूले भारतबाट तस्करी गरेर भैँसी र राँगा ल्याउने गरेको आरोप पुरानै हो। समझौताले कानुनी रूपमा गुणस्तरीय मासु निर्यातको ढोका खोल्ने भनिए पनि वास्तविकता भने चिनियाँ उद्योगहरूको निर्यातलाई सहज बनाउनेतर्फ केन्द्रित देखिन्छ।
चीन संसारकै ठूलो भैँसी र राँगाको मासु आयातकर्ता हो। सन् २०२३ मा मात्र चीनले २ करोड ७८ लाख मेट्रिक टन मासु आयात गरेको तथ्याङ्कले यो क्षेत्र कत्तिको ठूलो छ भन्ने देखाउँछ। यस्तो अवस्थामा चीनसँग सिधा जोडिएको नेपाललाई यो व्यापारले चुनौती र अवसर दुवै दिने निश्चित छ।
तर, नेपालको उत्पादन क्षमताले आन्तरिक मागसमेत धान्न नसक्दा यो निर्यात सम्भव छ कि छैन भन्ने प्रश्न उब्जिएको छ।
भैँसीपालनको अवस्था र चिन्ता
राष्ट्रिय कृषि गणना २०७८ अनुसार मुलुकभर भैँसीपालन गर्ने किसानको संख्या १६ लाख ६९ हजारबाट घटेर १४ लाख १७ हजारमा झरेको छ। राँगाभैँसीको मासु उत्पादन भने वार्षिक सवा लाख टन मात्र छ, जुन आन्तरिक खपतका लागि नै अपुग छ।
चीनसँगको प्रोटोकल लागू भएपछि मासुको मूल्य आकाशिने निश्चित छ। उत्पादन कम र निर्यात बढ्दा नेपाली बजारमा महँगीले उपभोक्ताको ढाड सेक्ने अवस्था आउनेछ।
तस्करीको जालो र सरकारको दृष्टिकोण
तराईमा सञ्चालन भइरहेका चिनियाँ उद्योगहरू भारतबाट तस्करी गरेर ल्याइएका भैँसी र राँगामा निर्भर छन्। सीमा सुरक्षामा खटिएका कर्मचारीहरूको मिलेमतोमा दिनहुँ तस्करी भइरहेको आरोप छ। भियतनामको नाममा चीन निर्यात भइरहेको मासु रोकिएको भनिए पनि तथ्याङ्कले फरक कथा सुनाउँछ।
समस्या समाधानको उपाय
चीनसँगको व्यापारलाई दीर्घकालीन बनाउने हो भने सरकारले व्यावसायिक भैँसीपालनलाई प्राथमिकता दिनुपर्छ। स्थानीय उत्पादन बढाउन लगानी र नीतिगत परिवर्तन अपरिहार्य छ। तर, हालको समझौताले नेपाली कृषकभन्दा पनि विदेशी उद्योगहरूलाई बढी फाइदा पुर्याउने देखिन्छ।
नेपाली बजार र किसानलाई प्राथमिकतामा राखेर योजना बनाइएन भने यो सम्झौता तस्करी र विदेशी उद्योगहरूको स्वार्थपूर्तिमा सीमित हुने खतरा छ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बलियो महत्त्वाकांक्षाको कमजोर कार्यान्वयन
सरकारले राष्ट्रिय गौरवको योजनामा राखेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग स्रोतको सकसमा रुमलिएको छ । राजनीतिक दलहरूले आफ्ना चुनावी प्रतिबद्धता र भाषणहरूमा बारम्बार दोहोर्याउँदै आएको यो रेलमार्गको चर्चा जति धेरै छ, यसको प्रगति भने त्यति नै निराशा र बेथितिले थिचिएको छ । बहुअपेक्षित रेलमार्गका लागि चाहिने न स्रोत व्यवस्थापन भरपर्दो छ, न दक्षताप्राप्त जनशक्ति नै उपलब्ध छ । झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९२५ किलोमीटर लामो रेलमार्गको कछुवा गतिका पछाडि बजेट अभाव नै मूल कारण देखिएको छ । बेलाबेला ठाउँठाउँमा स्थानीयले मुआब्जा माग गर्दै प्रदर्शन गरेका सन्दर्भ समाचारमाध्यममा आइरहेकै छन् । सरकारले यो आयोजनाका लागि छुट्ट्याएको रकमको आकार हेर्ने हो भने त्यसले मुआब्जा पनि तिर्न पुग्दैन, निर्माणको काम कसरी अगाडि बढ्छ ? मुख्य चिन्ताको विषय यही बनेको छ ।
योजना १५ वर्षमा पूरा भइसक्ने भनिएको थियो । तर, रेलमार्ग शुरुआतको आर्थिक वर्ष (आव) २०६६/६७ लाई आधार वर्ष मान्दा यो डेढ दशकमा बर्दिवासदेखि निजगढसम्म ५९ किलोमीटरमा ट्र्याकबेड बिछ्याउने काममात्र भएको देखिन्छ । अन्य खण्डमा अध्ययनको काममात्रै भइरहेको छ । राष्ट्रिय योजना आयोगको १६ औं पञ्चवर्षीय योजना (२०८१/८२ देखि २०८५/८६ सम्म)मा थप डेढ सय किलोमीटर ट्र्याकबेड बनाउने लक्ष्य राखिएको छ । अहिले जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको ६९ किलोमिटरमध्ये ५२ किलोमीटरमा रेल सेवा सञ्चालनमा छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको ट्र्याकबेड ५९ किलोमीटरलाई १४० किलोमीटर पुर्याउने र बिजलापुर–बर्दिवासखण्डमा ६९ किलोमीटर थप्ने योजना छ । तर, यो उद्देश्यमा स्रोतकै सकस पर्ने देखिएको छ । जग्गाको प्राप्ति, मुआब्जा, रूख, वन कटान र वातावणीय प्रभाव मूल्यांकनलगायत समस्याको समाधान चुनौतीका रूपमा उभिएका छन् । पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका २४ जिल्लालाई छोएर जाने यो योजनामा पूर्वी क्षेत्रमा काँकडभित्तादेखि इनरुवासम्म, निजगढ–बुटवलखण्डमा चितवनको भरतपुरमा देखिएको स्थानीयको अवरोध, चितवन राष्ट्रिय निकुञ्जमा राइट अफ वे परिवर्तनलगायत सरोकारहरू समाधान नभएसम्म योजना अघि बढ्न असम्भव छ । प्रक्रियागत ढिलासुस्ती आफ्नो ठाउँमा छँदै छन्, सरकारले योजनाका लागि चाहिनेजति बजेट छुट्ट्याउन नसक्दा अघि बढ्न सकेको छैन । योजना आयोगको लक्ष्यलाई हेर्दा पनि रेलमार्ग समयसीमाभित्र पूरा हुने आधार सुदूरसम्म प्रकट भइराखेको छैन ।
रेलमा यात्रु ओसारेरमात्रै व्यावसायिक रूपमा सफल बनाउन सकिँदैन भन्ने त भारतको अनुभवले देखाइसकेको छ । मालसामानको ढुवानी कति हुन्छ ? यो मुख्य सरोकार हो । हामीकहाँ त्यस्तो के उत्पादन छ, जसलाई ओसारेर रेलले आय आर्जन गर्न सक्छ ?
योजना आयोगको पञ्चवर्षीय लक्ष्य पूरा गर्नकै लागि पनि वर्षमा कम्तीमा ५० अर्ब रुपैयाँ बजेट छुट्ट्याउनुपर्ने रेल विभागको विज्ञहरूको मत पाइन्छ । चालू वर्षमा छुट्ट्याइएको बजेटको आकार भने ३ अर्ब ८८ करोड रुपैयाँमात्रै छ, त्यसमा पनि अन्य योजना समेटिएका छन् । अघिल्लो वर्ष १ अर्ब रुपैयाँ विनियोजन भएको थियो । कनिका छरेजस्तो बजेट पार्ने परिपाटी औसत योजनाको समस्या हो, रेलमार्ग यसको अपवाद बन्न सक्ने कुरै भएन ।
शुरुआतमा प्रतिकिलोमीटर १ अर्ब रुपैयाँ खर्च लाग्ने भनिएकोमा यो खर्च अहिले बढेर प्रतिकिलोमीटर डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान आइरहेका छन् । ५ वर्षअघिसम्म रेलमार्गको कुल लागत साढे ९ खर्ब लाग्ने भनिएको थियो, अहिले १५ खर्ब रुपैयाँ भनिँदै छ । यो रकम नेपालको एक वर्षको बजेटबराबर हो । स्रोतको समस्या नभएको अवस्थामा समेत समय लाग्ने योजनामा बजेट अभाव हुँदा कामले गति लिन नसकिरहेको विज्ञहरूको मतमा असहमत हुनुपर्ने कारण छैन । सरकारले बहुवर्षीय ठेक्का लगाए पनि अपेक्षित आकारमा बजेट निकासा नहुँदा काम अघि बढ्न सकेको छैन । यसले योजनाको समयमात्र लम्बिएको छैन, लागतको ग्राफ पनि उकालो लागिरहेको छ ।
सरकारले आफ्नो खर्च क्षमताले सक्दैन भने स्वदेशी निजीक्षेत्र र वैदेशिक लगानी लगानी आह्वान गर्नुपर्छ । त्यसो त, सरकारले यो प्रयत्न नगरेको पनि होइन । नेपाल लगानी बोर्डले यसमा काम गरे पनि ठोस प्रगति र लगानीकर्ताको आकर्षण देखिएको छैन । लगानीकर्ताले लगानीको सुरक्षा र आयको ग्यारेन्टीलाई हेरेको हुन्छ । यस निम्ति योजनाको व्यावसायिक सम्भाव्यता कति
छ ? यसमा लगानीकर्ताको चासो हुन्छ । खर्बौं रुपैयाँ लगानी खन्याएर त्यसबाट प्रतिफल प्राप्त हुँदैन भने त्यस्तो योजनामा लगानीकर्ताले स्वाभाविक रूपमा चासो राख्दैनन् । लगानी लिएर आउ भन्दैमा लगानीकर्ता हाम्फाल्ने होइनन्, उनीहरूलाई त आयको सम्भाव्यता देखाउन सक्नुपर्छ ।
रेलमा यात्रु ओसारेरमात्रै व्यावसायिक रूपमा सफल बनाउन सकिँदैन भन्ने त भारतको अनुभवले देखाइसकेको छ । मालसामानको ढुवानी कति हुन्छ ? यो मुख्य सरोकार हो । हामीकहाँ त्यस्तो के उत्पादन छ, जसलाई ओसारेर रेलले आय आर्जन गर्न सक्छ ? यसको स्पष्ट प्रारूप देखिएको छैन । अहिलेको आर्थिक शिथिलता र औद्योगिक उत्पादनमा आइरहेको गिरावटले रेलमार्गले आन्तरिक मालसामान ओसारेर व्यावसायिक लाभ दिनेमा आशंकाको ओज नै बढी देखिएको छ ।
योजना आयोगको पञ्चवर्षीय लक्ष्य पूरा गर्नकै लागि पनि वर्षमा कम्तीमा ५० अर्ब रुपैयाँ बजेट छुट्याउनु पर्ने रेल विभागको विज्ञहरूको मत पाइन्छ । चालू वर्षमा छुट्ट्याइएको बजेटको आकार भने ३ अर्ब ८८ करोड रुपैयाँमात्रै छ, त्यसमा पनि अन्य योजना समेटिएका छन्
चीनको केरुङदेखि काठमाडौंसम्म रेलमार्गको कुरा चलेको आजदेखि होइन, यो आजसम्म कुरैमा सीमित छ । चीनले आफ्नो विदेश नीतिको अभिन्न अंग बनाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनका विरोधाभाससँगै चिनियाँ सहयोगका योजनाहरू अल्मलिएको अवस्था छ । केरुङ– काठमाडौं रेलमार्ग होओस् वा भारतले बनाइदिने भनिएको रक्सौल–काठमाडौं रेलमार्ग यी दुवैै पूर्वाधार पूर्वपश्चिम रेलमार्गको व्यावसायिक सम्भाव्यताको सवालमा पूरक योजना बन्न सक्छन् । यी दुवै रेल योजना भारत र चीनको प्रभाव र स्वार्थ अवतरणको औजारजस्ता बनेका छन् । यी योजना अहिलेसम्म अध्ययनको चरणबाट अघि बढ्न सकेका छैनन् ।
केरुङ–काठमाडौ रेलमार्गको कुरा चल्नासाथै भारतीय सहयोगमा बनाउने भनिएको रक्सौल– काठमाडौं रेलमार्गको अध्ययनले गति लिएजस्तो देखिन्छ । त्यही प्रतिक्रिया र प्रवृत्ति चिनियाँ पक्षमा पनि पुनरावृत्ति भइआएको छ । केरुङ–काडमाडौं र रक्सौल– काठमाडौं रेलमार्ग तयार हुने हो भने यी चीन र भारतलाई व्यापारिक रूपमा जोड्ने सेतु बन्न सक्छन् । यसले निर्माणधीन पूर्व–पश्चिम रेलमार्ग पनि चलायमान बनाउन मद्दत पुग्न सक्छ । यसको व्यावसायिक ओज बलियो हुन्छ ।
६ वर्षअघि सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन भारतीय समकक्षी नरेन्द्र मोदीबीच रक्सौल–काठमाडौं रेलमार्ग बनाउने समझदारी बनेको थियो । अहिले दुवैतर्फको सत्ताको नेतृत्व दुवै नेताको हातमा रहेकाले पनि इच्छाशक्ति हुने हो भने त्यो समझदारीलाई कार्यान्वयन गर्ने उपयुक्त समय छ । भारतले चाह्यो भने योजना कार्यान्वयनमा समय लाग्दैन भन्ने त मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणले देखाइसकेको छ । यो पाइपलाइन निर्धारित समयसीमाभन्दा पहिल्यै तयार भएको थियो ।
प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग र पूर्व–पश्चिम रेलमार्ग बाराको निजगढमा जोडिने अध्ययनहरूले देखाएका छन् । सरकारले कम्तीमा अहिलेका लागि आगामी ५ वर्षमा रक्सौल–काठमाडौं रेलमार्ग बनाइदिन भारतसँग आग्रह गर्नुपर्छ । यो अवस्थामा पूर्व–पश्चिम रेलमार्ग निजगढसम्ममात्रै तयार गरिदिने हो भने रेलमार्ग उपयोग हुन सक्छ । रक्सौल–काठमाडौं प्रस्तावित रेलमार्ग (२१९ किलोमीटर) को लागत ३ खर्ब रुपैयाँ लाग्ने र समय ५ वर्ष लाग्ने भनिएको थियो । यो अध्ययन भएकै ५ वर्ष बितिसकेको छ । सरकारले भारतलाई यो रेलमार्ग अबको ५ वर्षमा बनाउन सहमत तुल्याउने र सरकारले ५ वर्षमा पूर्वपश्चिम रेलमार्गमा लगाउने बजेटलाई निजगढसम्मको खण्ड पूरा हुने गरी व्यवस्थापन गर्दा यो असम्भव कुरा पनि होइन । त्यसपछि क्रमैसँग पूर्वपश्चिम रेलमार्गअन्तर्गतका खण्डहरूको प्राथमिकता निर्धारण गरी काम गर्न सक्दामात्रै यसको व्यावसायिक सम्भाव्यता उपयोग हुनेछ । त्यसपछि निजगढबाट पश्चिमी क्षेत्र र बर्दिवासबाट पूर्वतर्फ रेलमार्ग विस्तारमा लाग्नु व्यावसायिक हिसाबले सान्दर्भि हुने देखिन्छ । भारतको सहयोगमा जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग पूरा हुने क्रममा रहेको अवस्थामा निजगढसम्म विस्तार भएर रेलमार्ग चलायमान हुने हो भने लगानीकर्ताको रुचि बढ्न सक्छ ।
केरुङ–काठमाडौं, रक्सौल– काठमाडौं र पूर्वपश्चिम रेलमार्गलाई सम्भाव्यताको प्याकेजका रूपमा पेश गर्न सकियो भने लगानीकर्ता आकर्षित हुन सक्छन् । यस निम्ति भारत र चीनसँग यी योजनाको कार्यान्वयनमा कूटनीतिक प्रभावकारी प्रयास गरिनुपर्छ । दुई उदीयमान अर्थतन्त्रलाई आपसमा बझाउने र बिझाउने गरी होइन, विश्वासमा लिएर आपसी आर्थिक हितका सन्दर्भमा सहकार्य गर्दामात्रै यो उद्देश्यमा सफल हुन सकिनेछ ।साभार आर्थिक अभियान
वीरगञ्ज । वीरगञ्जको आईसीपी भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ५ महीनामा लक्ष्यको झण्डै ७४ प्रतिशत राजस्व उठाएको छ । चालू आवको साउनदेखि मंसिरसम्मको यो भन्सारबाट ६४ अर्ब ५९ करोड रुपैयाँ राजस्व उठेको हो ।
देशको मुख्य नाकामा रहेको भन्सार कार्यालयलाई सो अवधिका लागि ८७ अर्ब ३३ करोड रुपैयाँ उठाउने लक्ष्य तोकिएको थियो । भन्सारले गत आवको समीक्षा अवधिको लक्ष्य र प्रगतिको तुलना गर्दा यो वर्ष उठाएको राजस्वको आकार ११ प्रतिशतले बढी हो ।
आव २०८०/८१ मा भन्सारले लक्ष्यको करीब ६३ प्रतिशत उठाएको थियो । त्यसबेला ९८ अर्ब ५६ करोड रुपैयाँ लक्ष्य दिइएकोमाा ६१ अर्ब ९९ करोड रुपैयाँ संकलन भएको भन्सारको बेभसाइटमा प्रकाशित तथ्यांकमा उल्लेख गरिएको छ ।
गत आवको तुलनामा चालू आवका लागि भन्सारले उठाउनुपर्ने राजस्व लक्ष्यको आकार भने घटेको देखिन्छ । भन्सार विभागले चालू वर्षको साउनदेखि मंसिरसम्मका लागि करीब ११ अर्ब रुपैयाँ लक्ष्य घटाएको छ ।
१३ शीर्षकमा राजस्व
यो भन्सारले विभिन्न १३ शीर्षकमा राजस्व लिएको देखिन्छ । सबैभन्दा बढी मूल्यअभिवृद्धितर्फ उठाएको छ । मूल्यअघिवृद्धि कर २६ अर्ब १८ करोड रुपैयाँ संकलन भएको छ । भन्सार महशुल २४ अर्ब ८ करोड रुपैयाँ उठाएको छ । अन्तःशुल्क ४ अर्ब ८० करोड रुपैयाँ उठेको छ ।
अनिल तिवारी
वीरगन्ज,मंसिर ६
आर्थिक क्षेत्रमा लामो समय देखि कलम चलाउदै आएका अर्थबिद्ध उमेशचन्द्र ठाकुरको पुस्तक प्रकाशित भएको छ । जिसिएम उधोग बिराटगनरबाट जागीरे जिवनको सुरुवात गर्नुभएको ठाकुरद्वारा लिखित ‘अर्थतन्त्रका आयाम’ शीर्षकको पुस्तक हालै प्रकाशनमा आएको हो । जसमा समसामयिक अर्थराजनीतिक सरोकारका विषयमा ठाकुरको दशकौंको लेखनको प्रतिफललाई संग्रहित गरिएको छ ।
ठाकुरले बिसं २०३९ साल देखि निरन्तर विभिन्न पत्रपत्रीका हरुमा लेखन गर्दै आएका छन् र आर्थिक विश्लेषण, औद्योगिक व्यवस्थापन, श्रम सम्बन्ध, र आर्थिक–सामाजिक परिवर्तनहरूबारे आफ्नो गहिरो जानकारी र अनुभवलाई प्रस्तुत गरेका छन ्।
यो पुस्तक आर्थिक क्षेत्रका समस्या,सुझाव लगायतका बिषयगत कुरामा आधारित विगत दशकभन्दा लामो समय देखि प्रकाशित ७६ उत्कृष्ट आलेखहरूको संगालो हो, जसले देशको आर्थिक र औद्योगिक पाटोमा गहिरो दृष्टिकोण प्रस्तुत गर्छ ।
पुस्तकको संयोजन ओमप्रकाश खनालले गरेका हुन्। खनालका अनुसार, ‘अर्थतन्त्रका आयाम’ वर्तमान अर्थराजनीतिक र औद्योगिक परिदृश्यलाई विगतसँग तुलना गर्ने र भविष्यलाई दृष्टिगत गर्ने खालको ‘आँखीझ्याल’ हो ।
खनालले पुस्तकलाई समयसापेक्ष दृष्टिकोणले तयार गरिएको र आगतलाई सही ढंगले बुझ्न तथा स्वागत गर्न सक्षम बनाउने ठानेका छन्। यो पुस्तक पाठकलाई पुराना घटनाहरूको विश्लेषणमार्फत आधुनिक आर्थिक चुनौतीहरूको मूल्यांकन गर्ने मार्गदर्शन दिने उद्देश्यले तयार पारिएको छ।
ठाकुरको लेखन यात्रा उद्योग, व्यापार र श्रम सम्बन्धमा आधारित छ, ।उनले विभिन्न आर्थिक प्रतिष्ठानहरुमा निर्वाह गरेको काम कर्तव्य,उधोग व्यवस्थापन र श्रमिक बिचको सहजता र उनले औद्योगिक प्रतिष्ठानहरूको व्यवस्थापनमा आफ्नो गहिरो अनुभवलाई समेटेका छन् । निजीक्षेत्रका संघसंस्थाहरूमा लामो समयदेखि संलग्न रहेका ठाकुर औद्योगिक शान्ति, श्रम सम्बन्ध र सामाजिक–आर्थिक सम्बन्धका विषयमा विशेष राम्रो दखल राख्छन्।
उनका लेखमा सामाजिक–आर्थिक परिवेशमा देखिएका परिवर्तन, औद्योगिक विवादहरूको समाधान र व्यापारिक चक्रको प्रभावलाई समेटिएको छ ।
पुस्तकमा समेटिएका आलेखहरूले ठूला औद्योगिक र श्रमिक आन्दोलनदेखि आर्थिक नीति, निजीक्षेत्रको भूमिका, र सरकारको विभिन्न नीतिहरूको समीक्षासम्मका विविध विषयवस्तुलाई समेट्छन्।
लेखहरूमा आर्थिक असमानता, उदारीकरणको प्रभाव र श्रमिक वर्गका समस्याहरूको सजीव चित्रण गरिएको छ, जसले हालका श्रम आन्दोलनहरू, उद्योगी–व्यवसायीहरूबीचको सम्बन्ध र नीति निर्माताहरूलाई आर्थिक सुधारको दिशातर्फ निर्देशित गर्न म हत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । पुस्तकको अनावर कार्यक्रममा उमेशचन्द्र ठाकुरले पुस्तक प्रकाशित गर्न सहयोग पु¥याउने सम्पूर्ण व्यक्तिहरू र संस्थाहरू प्रति आभार समेत व्यक्त गरेका छन् ।

