काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को लायन वर्ष २०२६–२०२७ को लागि नयाँ नेतृत्व चयन भएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर पदमा वीरगञ्जका चर्चित समाजसेवी एवं सफल व्यवसायी रामबिहारी पाण्डे निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, प्रथम उप–गभर्नर पदमा हेटौंडाकि वरिष्ठ समाजसेवी एवं सफल महिला उद्यमी अंकीता सुमार्गी र द्वितीय उप–गभर्नर पदमा काठमाडौंका वरिष्ठ समाजसेवी एवं उद्यमी महेश पोखरेल निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित गभर्नर पाण्डे लायन्स आन्दोलनमा विगत २९ वर्षदेखि सक्रिय रहँदै आउनु भएको एक अनुभवी तथा समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई नमुना डिष्ट्रिक्टको रूपमा विकास गर्ने लक्ष्य राख्दै सदस्यता विस्तार, नेतृत्व विकास, प्रविधिमैत्री व्यवस्थापन तथा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवसेवा सम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना अघि सार्नु भएको छ ।
त्यसैगरी, नवनिर्वाचित प्रथम उप–गभर्नर अंकीता सुमार्गी तथा द्वितीय उप–गभर्नर महेश पोखरेलले पनि डिष्ट्रिक्टको समग्र विकास तथा सदस्यहरूको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
नयाँ नेतृत्व चयनसँगै डिष्ट्रिक्ट ३२५ ‘एस’ मा नयाँ ऊर्जा, उत्साह र सक्रियता थपिने विश्वास लिइएको छ । लायन्स सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
आर्थिकद्वार/ Desk
वर्षौंदेखि अलपत्र रौतहट–सर्लाही पुल निर्माणले पायो गति, अमरेश कुमार सिंहद्वारा स्थलगत अनुगमन
विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको रौतहट–सर्लाही जोड्ने बडहर्वा घाटको महत्वपूर्ण बागमती नदी पुल निर्माण परियोजनाले अब नयाँ गति लिने संकेत देखिएको छ । आज सर्लाही ४ का सांसद अमरेश कुमार सिंहले उक्त पुलको स्थलगत अवलोकन गर्दै निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ । स्थलगत निरीक्षणका क्रममा उहाँले पुल निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित ठेकेदार कम्पनीलाई कडा चेतावनी समेत दिनुभयो । अब कुनै पनि बहानामा काममा ढिलाइ नगरी तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्नुपर्ने उहाँको स्पष्ट निर्देशन रहेको बताइएको छ ।
सर्लाही ४ का सांसद सिंहले निर्माण कार्यमा कुनै किसिमको अवरोध नआओस् भन्ने उद्देश्यले सम्बन्धित सरकारी निकाय, स्थानीय सरोकारवाला पक्ष तथा समुदायलाई आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले सरकारको स्पष्ट प्रतिबद्धताअनुसार पुललाई छिटोभन्दा छिटो सम्पन्न गरी रौतहट र सर्लाही जिल्लाबीच सशक्त र सहज आवतजावत सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । यसैबीच, सम्माननीय प्रधानमन्त्रीबाट समेत यस परियोजनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक निर्देशन दिइएको जनाइएको छ। प्रधानमन्त्रीस्तरबाट समेत प्राथमिकता पाएपछि परियोजना अब प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि अधुरो र अलपत्र अवस्थामा रहेको यो पुल अब छिट्टै पूर्णता पाउनेमा स्थानीयवासी आशावादी देखिएका छन् । पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाबीचको आवतजावत सहज हुनुका साथै व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक गतिविधिमा समेत उल्लेखनीय सहजता आउने विश्वास गरिएको छ । स्थानीय बासिन्दाले लामो समयदेखिको प्रतीक्षा अब अन्त्यतिर पुगेको महसुस गर्दै निर्माण कार्यलाई तीव्रता दिन सरकार र निर्माण कम्पनी दुवै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय
वीरगञ्ज । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आज बिहान बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल’ बैठकपछि मन्त्रालयले निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा निष्कर्ष निकालेको हो।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ।
बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ।
बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ। शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिइन्।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए। बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिए।
लायन्स इन्टरनेशनल लिडरसिप एवार्डबाट लायन प्रकाश बाहेती सम्मानित
वीरगञ्ज – लायन्स इन्टरनेशनलको प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड यस वर्ष लायन्स क्लब अफ वीरगञ्जका पुर्व अध्यक्ष एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन प्रकाश बाहेतीलाई प्रदान गरिएको छ । विश्वभरका उत्कृष्ट लायन्स लिडरहरूलाई दिइने यो एवार्ड नेतृत्व क्षमता, सामाजिक प्रतिबद्धता तथा समुदायमा पुर्याएको सेवाका आधारमा प्रदान गरिन्छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको हेटौंडामा आयोजित तेस्रो डिष्ट्रिक्ट क्याबिनेट मिटिङ्ग एवं एवार्ड वितरण समारोहमा बाहेतीलाई उक्त एवार्ड प्रदान गरिएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका संस्थापक डिष्ट्रिक्ट गभर्नर लायन अमर बहादुर श्रेष्ठले बाहेतीलाई इन्टरनेशनल लिडरसिप एवार्ड प्रदान गर्दै बाहेतीको निरन्तर सेवा भावना, दिगो नेतृत्व तथा सामाजिक कल्याणमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
त्यसैगरी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतले बाहेतीको नेतृत्व शैली, सहयोगी स्वभाव र युवा सदस्यहरूलाई प्रेरित गर्ने क्षमताकै कारण उनलाई अन्तर्राष्ट्रिय स्तरको उच्च सम्मान प्राप्त भएको बताउँदै शुभकामना व्यक्त गरेका थिए ।
लायन प्रकाश बाहेती लामो समयदेखि स्वास्थ्य, शिक्षा, दृष्टि संरक्षण, रक्तदान, दैवी विपद् राहत तथा सामुदायिक सशक्तीकरणका क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहेका छन् । उनले सञ्चालन गरेका विभिन्न परियोजनाहरूले स्थानीय समुदायमा प्रत्यक्ष प्रभाव पारेको र लायन्स क्लबका सदस्यहरूलाई सेवा कार्यमा अझ सक्रिय बनाएको बताइएको छ । एवार्ड ग्रहण गर्दै बाहेतीले आफूलाई प्रदान गरिएको यो अन्तर्राष्ट्रिय सम्मान सम्पूर्ण लायन्स परिवारको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, “यो सम्मानले जिम्मेवारी अझ थपिएको छ ।”
उनलाई लायन्स इन्टरनेशनल प्रेसिडेन्ट पिन, डिष्ट्रिक्ट गभर्नर प्रशंसा पदक र डिसेम्बर महिनाको लायन अफ द मन्थ एवार्डबाट समेत सम्मानित गरिएको छ ।
“खलनायक होइन, परिवर्तनको नायक बन्न चाहन्छु” प्रचण्डको भावुक भिडियो सन्देश,हेर्नुस यो भिडियो
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू इतिहासमा खलनायकका रूपमा स्थापित हुन नचाहेको बताएका छन् । आइतबार सार्वजनिक गरिएको भिडियो सन्देश मार्फत उनले देशलाई “सही दिशामा नपु¥याएसम्म विश्राम नलिने” दृढता व्यक्त गरेका हुन्।
भिडियो सन्देशमा उनले हलिउडको चर्चित संवाद उद्धृत गर्दै भने, “या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू।” उनले थपे, यदि आफू धेरै पहिले राजनीतिक जीवनबाट अलग भएको भए सायद देशले उनलाई नायककै रूपमा सम्झिने थियो, तर आफू अहिले पनि सक्रिय रहनुको कारण देशलाई सही बाटोमा डोर्याउने दायित्व भएको दाबी गरे।
“म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। देशलाई सही दिशामा नपु¥याएसम्म विश्राम लिने छैन,” उनले सन्देशमा भनेका छन्। साथै, जनताले आफूलाई जुन दृष्टिकोणले मूल्याङ्कन गरे पनि त्यो उनीहरूको अधिकार भएको उल्लेख गर्दै उनले भविष्यमा गरिने परिवर्तनहरूले आफ्नो उपस्थितिको अनुभूति दिलाउने विश्वास व्यक्त गरे। प्रचण्डले आफू नयाँ विचार र नयाँ पुस्ताका लागि सधैं खुला रहेको बताएका छन्। तर, डिजिटल युगमा सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गरे।
“हरेक चम्किलो चिज हिरा हुँदैन,” उनले भने, “म यहाँ भोट माग्न आएको होइन, स्वतन्त्र चिन्तनका लागि अपील गर्न आएको हुँ।”उनले हाल युवापुस्ताले उठाइरहेका भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारजस्ता मुद्दा आफूले जनयुद्धकालदेखि नै उठाउँदै आएको एजेन्डा भएको बताए। राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको आफ्नो पुरानो धारणा पुनः दोहोर्याउँदै उनले वर्तमान संसदीय प्रणालीलाई “कुर्सीको तानातान” को खेलको संज्ञा दिए।
“मेरो माग र तपाईंहरूको माग एउटै हो। म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ,” उनले भने । प्रचण्डको यो सन्देशले पछिल्लो समय राजनीतिक भूमिकाबारे उठिरहेका प्रश्नहरूबीच उनले आफ्नो प्रतिबद्धता र दृष्टिकोण पुनः स्पष्ट पार्ने प्रयासका रूपमा हेरिएको छ।
‘म दुबईमा छु, हत्या जमात–ए–इस्लामीले गराएको हो’ : उस्मान हादीका ‘हत्यारा’ फैसलले आफू निर्दोष भएको दाबी गरे, ढाका प्रहरीको भारत प्रवेशको दाबी असफल
पुरै देशलाई आन्दोलित बनाएको बंगलादेशको हत्या प्रकरणले नया मोड लिएको छ । उस्मान हादी हत्या प्रकरणका मुख्य आरोपित फैसल करीम मसूदले अन्ततः आफ्नो मौन तोडेका छन्। ढाका प्रहरीले फैसल हत्या पश्चात भारत (मेघालय) भागेको दाबी गर्दै आएको थियो। तर हाल सार्वजनिक भएको एक भिडियोमा फैसलले आफू दुबईमा रहेको दाबी गरेका छन्।
आरोपित फैसलले उस्मान हादीको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट रूपमा अस्वीकार गरेका छन् र सम्पूर्ण आरोप जमात–ए–इस्लामी माथि थोपरेका छन्। यस खुलासाले बंगलादेश प्रहरीद्वारा गरिएका ती दाबीहरूमा गम्भीर प्रश्न उठाएको छ, जसलाई यसअघि नै भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले खारेज गरिसकेको थियो।
आरोपितको दाबी : ‘म निर्दोष छु’
सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा फैसल करीम मसूदले उस्मान हादीको हत्यासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। उनका अनुसार, हादीसँग उनको सम्बन्ध केवल व्यावसायिक मात्र थियो। फैसलले सरकारी ठेक्का पाउने आशामा हादीलाई राजनीतिक चन्दा (डोनेसन) दिएको स्वीकार गरे पनि हत्या प्रकरणसँग आफू असम्बन्धित रहेको बताएका छन्।
उनले हादीको हत्याको पछाडि ‘जमात–शिबिर’ समूहको हात हुनसक्ने आरोप लगाउँदै आफू र आफ्नो परिवारलाई योजनाबद्ध रूपमा फसाइँदै आएको दाबी गरेका छन्।
दुबईमा रहेको प्रमाण
मिडिया रिपोर्टहरूका अनुसार, फैसल दुबईमै रहेको पुष्टि गर्ने केही कागजातहरू फेला परेका छन्। फैसलसँग सन् २०२२ मा जारी भएको संयुक्त अरब इमिरेट्स (यूएई) को पाँच वर्षे मल्टिपल–एन्ट्री टुरिस्ट भिसा रहेको छ। उपलब्ध अभिलेखले उनी हाल पनि दुबईमै रहेको देखाउँछन्, जसले ढाका प्रहरीले अघि सारेको ‘भारत भागेको’ सिद्धान्तलाई गलत सावित गरेको छ।
ढाका प्रहरी बनाम बीएसएफ : सीमा पार गरेको दाबीमा विवाद
ढाका प्रहरीका वरिष्ठ अधिकारी एस.एन. नजरुल इस्लामले डिसेम्बर १२ मा भएको आक्रमणपछि फैसल र अर्का एक संदिग्ध आलमगीर शेख हलुआघाट सीमा नाका हुँदै भारतको मेघालय प्रवेश गरेको दाबी गरेका थिए। प्रहरीका अनुसार, दुई जना भारतीय नागरिकले उनीहरूलाई रिसिभ गरेका थिए।
तर, मेघालयस्थित भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का महानिरीक्षक ओ.पी. उपाध्यायले यी दाबीहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले अन्तर्राष्ट्रिय सीमा पार गरिएको कुनै प्रमाण नपाइएको र त्यस किसिमको कुनै गतिविधिको रिपोर्ट समेत नरहेको स्पष्ट पारेका छन्।
विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को नाममा मधेश प्रदेश सरकारले करोडौ रकम खर्च गरेको पाइएको छ । मधेश प्रदेशका मन्त्रालयहरूमा विकास आयोजना कार्यान्वयनभन्दा पनि डिपीआरको नाममा बर्सेनि करोडौँ रुपैयाँ खर्च गरेका छन् । तर तयार पारिएका ती डीपीआरहरू कार्यान्वयनमा नआउँदा प्रदेशको सार्वजनिक स्रोत दुरुपयोग भइरहेको महालेखा परीक्षकको कार्यालय ठहर गर्दै आएको छ ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार आव २०७४/७५ देखि २०८०/८१ सम्म सात वर्षमा मधेश प्रदेशमा १९ करोड ७२ लाख रुपैयाँभन्दा बढी रकम डीपीआर निर्माणको नाममा खर्च गरिएको छ । तर, यस अवधिमा तयार गरिएका अधिकांश डीपीआर कार्यान्वयनमा नआएको महालेखाको ठहर छ ।
आव २०८०/८१ मा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले २६ प्याकेजमा तीन करोड २६ लाख रुपैयाँभन्दा बढी खर्च गरी डीपीआर तयार गरायो । सडक, पुल र भवनसम्बन्धी ती सबै डीपीआर सोझै खरिद विधिबाट परामर्शदातालाई दिइएका थिए । तर, कुनै पनि योजना कार्यान्वयन भएन ।
त्यसैगरी, आव २०७९/८० मा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले करिब एक करोड रुपैयाँ खर्चेर खानेपानी संरचनाका डीपीआर बनायो । खानेपानी संरचनाका लागि नौ परामर्शदातामार्फत ३८ लाख रुपैयाँ खर्चेर डीपीआर र लागत अनुमान तयार गरायो । सोही वर्ष १० वटा फर्मलाई थप ६१ लाख ४७ हजार रुपैयाँ भुक्तानी गरियो ।
प्रतिस्पर्धा बिना परामर्शदाता छनोट गरिएको र डीपीआरअनुसार काम अघि नबढेको महालेखापरीक्षकले खर्च पूर्णतः व्यर्थ भएको ठहर गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सोही वर्ष विभिन्न खोलामा पुल निर्माण र मधेस सहिद मार्गको सम्भाव्यता अध्ययनमा एक करोड ५५ लाख रुपैयाँ खर्च ग¥यो । तर, ती सम्भाव्यता अध्ययनका सबै प्रतिवेदन हालसम्म मन्त्रालयमा पेस नै भएका छैनन् ।
प्रदेश आर्थिक कार्यविधि ऐनले १० लाखभन्दा माथिका योजनामा डीपीआर अनिवार्य गरे पनि स्रोत सुनिश्चितता नभएका, अव्यावहारिक र असम्भव योजनाका डीपीआर बनाउने क्रम रोकिएको छैन । महालेखाले पटक– पटक उपयोगिता नदेखिने डीपीआरमा रोक लगाउन सुझाव दिए आएपनि प्रदेश सरकारका मन्त्रालयहरुले त्यसको बेवास्ता गर्दै आएको छ ।
चालु आव २०८२/८३ मा समेत सरकार यस्तै हावादारी योजनाको डीपीआर बनाउने तयारीमा छ । चालु आवमा मात्रै विभिन्न मन्त्रालय र निकायले ६० भन्दा बढी डीपीआर बनाउन २९ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेका छन् । कार्यान्वयन सुनिश्चित नभए यी डीपीआर पनि अघिल्लाकै सूचीमा थपिने निश्चित देखिन्छ ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले ढल्केबर–जटही सडकको दुवैतर्फ पर्खाल निर्माण र प्रदेशका आठै जिल्ला सदरमुकाम जोड्ने पोड–वे जस्ता अव्यावहारिक योजनाका लागि करोडौँ रुपैयाँ डीपीआरमै छुट्याएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालय समेतले पनि पुल, सडक र भवनसम्बन्धी अनुसन्धान तथा परामर्श शीर्षकमा करिब एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
तर त्यो कहाँ बनाउने यकिन छैन । पूर्वमन्त्रीदेखि कर्मचारीसम्मको एउटै स्वीकारोक्ति छ— डीपीआर कमिसनको आकर्षक माध्यम बनेको छ । पूर्वभौतिक पूर्वाधारमन्त्री रामसरोज यादव भन्छन् ‘ भौतिक पूर्वाधार विकास मन्त्रालयमै धेरै डिपीआर बनेका छन् । तर त्यो आफ् नो कार्यकालमा नभई अघि र पछिका कार्यकालका मन्त्रीहरुले बनाएका हुन ।
श्रोत सुनिश्चित नभई डिपीआर बनाउने नमिल्ने हो । तर कमीशनकै लागि मन्त्री र सचिवको मिलेमतोमा विगतमा डिपीआर बनाइएको देखिन्छ । भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता प्रवीणप्रताप अधिकारी विगतमा विकृति भएको स्वीकार गर्दै अहिले सुधारको प्रयास भइरहेको बताउंछन् । तर, बजेट किताबमै स्रोत सुनिश्चितताविना दर्जनौँ डीपीआर राखिनुले सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ ।
मधेश प्रदेशमा डीपीआर विकासको आधार बन्नुको साटो कमिसनको औजार बन्दै गएको कार्यान्वयनमा नआएको गतिविधि र महालेखाको प्रतिवेदनले देखाउंछ । जबसम्म स्रोत सुनिश्चितता, पारदर्शी प्रतिस्पर्धा र समयमै कार्यान्वयन अनिवार्य गरिँदैन, तबसम्म डीपीआरमा करोडौँ खर्चिनु प्रदेशका लागि विकास होइन आर्थिक अपराधको रुपमा लिन सकिन्छ ।
मन्त्रालयका कर्मचारीहरूले विगतमा डिपीआरहरु बनेको स्वीकार्छन । तर जेन–जी आन्दोलनका क्रममा मन्त्रालयमा भएको आगजनीले डीपीआरसम्बन्धी धेरै कागजात जलेको कारण अभिलेख मिल्न गाह्रो छ । यसले अनियमितता ढाकछोप गर्न सहज वातावरण बनाएको आशंका थप बलियो बनेको छ ।
सरोज यादवले नेपाल भारत बिचको सम्बन्ध खराब गर्न खोजेको निर्बतमान मुख्यमन्त्री जितेन्द्र सोनलको आरोप
सरोज यादवले नेपाल भारत बिचको सम्बन्ध खराब गर्न खोजेको निर्बतमान मुख्यमन्त्री जितेन्द्र सोनलको आरोप । तथाकथित मुख्यमन्त्रीले तथ्यहिन ,अधारहिन र भ्रामक कुरा गरेका छन ।उनले क्षेत्राअधिकार वाहिर गएर बोलेको त्यसलाई प्रमाणित गर्न सोनलको चुनौति ।मुख्यमन्त्री यादवले भारतसंग बिद्यमान रहेको र्साकृतिक,धार्मिक, एैतिहासकि खलबल्याउन खोजेको हो । हेर्नुहोस यो भिडियो…….
हरि खेतान क्याम्पसमा शिक्षा संकट ः विद्यार्थी सडकमा, शिक्षक–कर्मचारी तालाबन्दीमा
वीरगञ्ज-वीरगञ्जमा नामचलेको शैक्षिक संस्थाको रुपमा रहेको हरि खेतान बहुमुखी क्याम्पस अवस्था लथालिगं हुदै गएको छ । क्याम्पस संचालक समिति,क्याम्पस प्रमुख र शिक्षक तथा कर्मचारीहरुको त्रिकोणात्मक स्वार्थले गर्दा क्यम्पसको अवस्था खराब भएको बिद्यार्थीहरुको आरोप रहेको छ । क्याम्पसको अध्यन अध्यापन एक्कासी ठप्प बनेपछि बिद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका छन । कक्षा सञ्चालन नहुँदा आक्रोशित विद्यार्थीले बुधबार बिहान क्याम्पसको मुख्य गेट अगाडी सडकमा धर्ना दिदै प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
प्लस २ देखि स्नातक तहसम्मका विद्यार्थीले “पढाइ चाहियो, राजनीति होइन” भन्ने नारा लगाउदै केहि समयको लागी सडम समेत अवरुद्ध पारेका थिए । उनीहरूका अनुसार, क्याम्पस प्रमुख, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबीचको लामो विवादका कारण साउन महिना देखि नियमित पठन पाठन हुन सकेको छैन ।
“मंगलबार मात्रै संचालनमा आएको क्याम्पस पुन बन्द हुनले आफुहरु बिच्चलीमा परेको बिद्यार्थीहरुले आक्रोस व्यक्त गरे । हिजो मात्र खुल्यो आज फेरि बन्द भएपछि हामी आन्दोलनमा उत्रन बाध्य भयौं,” स्नातक तहका विद्यार्थी मनोज कुमार यादवले बताउदै भने, वार्षिक शैक्षिक क्यालेन्डर नै कार्यान्वयन भएको छैन,हाम्रो भविष्यसँग खेलबाड भइरहेको छ ।
मङ्गलवार देखि शिक्षक र कर्मचारी क्याम्पस प्रशासनविरुद्ध तालाबन्दी गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । उनीहरूले क्याम्पस प्रमुख किशोरी राय यादवले मनोमानी, गैरजिम्मेवार व्यवहार गर्दै कर्मचारीको हक–हितको कुरालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
कर्मचारी युनियनका अध्यक्ष विनोद यादवले माग सम्बोधनका लागि असोज २० गतेसम्मको अल्टिमेटम दिए पनि क्याम्पस प्रमुखले बेवास्ता गरेपछि आफुहरु तालाबन्दी गर्न बाध्य भएको बताए । “हाम्रो संघर्ष व्यवस्थापनको परिवर्तन होइन, सुधारका लागि हो , तर प्रमुख यादवले बारम्बार हठी व्यवहार देखाएकोले यो अवस्था उत्पन्न भएको हो,” यादवले भने ।
क्याम्पस प्रमुख किशोरी राय यादवले कर्मचारीको आरोप निराधार रहेको बताउदै क्याम्पस व्यवस्थापन समितिले आफुलाई असहयोग गरेको गुनासो व्यक्त गरे ।
“मे नियुक्त भएदेखि नै आर्थिक–प्रशासनिक नियमावली बनाउन खोजेँ, तर समितिले सहयोग गरेन, उल्टै नियम विपरीत निर्णयहरू गर्न खोज्छ,” प्रमुख यादवले सुनाए ।
यादवका अनुसार, समितिले अवकाशप्राप्त व्यक्तिलाई हरि खेतानमा उपप्रधानाध्यापक नियुक्त गरेर नियम उल्लङ्घन गरेको छ । “कर्मचारीको तलब वृद्धि निर्णयसमेत समितिले बैठकबिना ग¥यो। यस्तो अवस्थामा कसरी सुचारु ढङ्गले काम गर्न सकिन्छ?” उनले प्रश्न गरे।
आन्दोलन स्थलमा पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेपछि आन्दोलन रोकिएको छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले विद्यार्थीहरुसग सम्वाद गर्दै समस्या समाधानका लागि क्याम्पस प्रशासन, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबीच नियमित छलफल भइरहेको जानकारी बताए ।“दुई दिनभित्र सहमति गराई आइतबार देखि कक्षा सुचारु गराउने प्रयास भइरहेको छ,” सिडिओ सुवेदीले बताए।
हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जको सबैभन्दा ठूलो शैक्षिक संस्था हो, जहाँ कक्षा ११, १२, स्नातक, स्नातकोत्तर तहदेखि सम्बन्धित विद्यालयमा माध्यमिक तहसम्म पढाइ हुन्छ। तर पछिल्ला विवादले पाँच हजारभन्दा बढी विद्यार्थीको अध्ययन संकटमा परेको छ।
शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र क्याम्पस प्रमुखबीचको अविश्वास र राजनीतिक हस्तक्षेपले शैक्षिक वातावरण दिनानुदिन बिग्रँदै गएको छ। विद्यार्थी र अभिभावक दुवै चिन्तित छन् । स्थानीय शिक्षाविद्हरूले चेतावनी दिएका छन्, “यदि तुरुन्तै सहमति र सुधार नआए, यो क्याम्पसको शैक्षिक प्रतिष्ठा नै धराशायी बन्ने खतरा छ।”
