Home Breaking News पर्सा – २ मा राप्रपाबाट पूर्व सांसद बिना जयसवाल कुर्मी लड्ने निश्चित

पर्सा – २ मा राप्रपाबाट पूर्व सांसद बिना जयसवाल कुर्मी लड्ने निश्चित

वीरगञ्ज । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की पूर्व समानुपातिक सांसद बिना जयसवाल कुर्मी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने निश्चित भएको छ ।

राप्रपा निकट स्रोतका अनुसार कुर्मीले पर्सा–२ बाट नै निर्वाचन लड्ने निर्णय गरेकी हुन् । पार्टी पङ्क्ति र स्थानीय जनताबाट समेत उक्त क्षेत्रबाट लड्न दबाव आएपछि उनले यो निर्णय लिएकी बताइएको छ । पर्सा–२ कुर्मीको आधार क्षेत्र पनि हो ।

यसअघि पर्सा जिल्ला कमिटीको बैठकले कुर्मीलाई पर्सा क्षेत्र नम्बर १ र २ दुवैबाट सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । यो सिफारिसले पर्साको राजनीतिक वृत्तमा ठूलो चर्चा उत्पन्न गरेको थियो ।

हिन्दु राष्ट्र स्थापना र राजतन्त्र पुनःस्थापनाको अडानका लागि चर्चित कुर्मी गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको उपमेयर पदमा पराजित भएकी थिइन् । राप्रपाका नेताहरूका अनुसार कुर्मीको लोकप्रियता र सङ्गठनात्मक क्षमताका कारण दुवै क्षेत्रबाट उनको नाम अगाडि सारिएको थियो । तर अब उनले आफ्नो आधार क्षेत्र मानिएको पर्सा–२ बाटै प्रत्यक्ष निर्वाचन लड्ने लगभग पक्का भएको छ ।

पर्सा क्षेत्र नम्बर २ बाट कुर्मीसँगै नन्दू श्रीवास्तव र अवध किशोरको नाम पनि सिफारिस भएको थियो । यद्यपि, पार्टीले कुर्मिलाई पर्सा – २ बाट उतार्ने निर्णय गरेको छ ।

समानुपातिक सांसदका रूपमा कुर्मीले संसद्मा पर्सा जिल्लाको विकास र यहाँका विभिन्न विषयहरू मुखर रूपमा उठाउने गरेकी थिइन् । उनले नारायणी रङ्गशाला, सिर्सिया नदी, वीरगञ्जको सडक विस्तार, हिन्दुहरूमाथि फरक धर्मका व्यक्तिहरूमाथि भएका आक्रमणहरूको विषयमा आवाज उठाएकी थिइन् । विकास निर्माणका कामहरूमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको थियो । पर्साबाट पढेलेखेको र जानकार सांसदको रूपमा उनलाई हेरिन्थ्यो ।