Home Breaking News ‘नेपाल–भारत’ बिच खानेपानी विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

‘नेपाल–भारत’ बिच खानेपानी विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

117

नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवलाई भारतको राजधानी नयाँ दिल्लीमा आज भव्य स्वागत गरिएको छ ।आज शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मालगायत उच्च अधिकारीहरूले मन्त्री यादवलाई सम्मानपूर्वक स्वागत गर्नु भएको हो ।
मन्त्री यादव नेपाल सरकारको तर्फबाट भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्ली पुग्नु भएको हो । उक्त समझदारीपत्र यही फागुन १९ गते सोमबार नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रमा आपसी सहयोग विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर गरिने भएको छ । यस सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवद्र्धन तथा फोहोर व्यवस्थापनमा ठोस सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, नेपाल सरकारको हालसम्मका प्रयासलाई थप सशक्त बनाउने लक्ष्यसमेत यस सम्झौताले बोकेको छ ।
नेपाल–भारतबीचको आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने यो सम्झौता दुवै देशका नागरिकका लागि लाभदायक हुने विश्वास गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।