काठमाडौं । इरानमा जारी संकटका बीच नेपाली नागरिकका लागि ठूलो राहतको खबर आएको छ। भारतीय दूतावास, तेहरानले नेपाल र श्रीलंकाको सरकारको अनुरोधमा इरानमा रहेका नेपाली तथा श्रीलंकाली नागरिकलाई समेत उद्धार अभियानमा समेट्ने निर्णय गरेको छ।
यो जानकारी भारतको चर्चित समाचार संस्था डब्लुएन न्यूजका विदेशी मामिला सहायक सम्पादक सिद्धान्त सिबलले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उनले आफ्नो पोस्टमा भनेका छन्, ‘‘नेपाल र श्रीलंकाको सरकारको अनुरोधमा, इरानमा भारतीय दूतावासको उद्धार प्रयासमा अब नेपाली र श्रीलंकाली नागरिकलाई पनि समेटिनेछ।’’ सिद्धान्त सिबलले डीएनए न्यूज र डीडी न्यूजमा समेत आफ्नो योगदान दिएका छन्।
यो निर्णयले इरानमा संकटको चपेटामा परेका नेपाली नागरिकमा आशाको सञ्चार ल्याएको छ। हालैका दिनमा इरानमा रहेका नेपालीहरू युद्ध, तनाव र असुरक्षाका कारण घर फर्कन चाहिरहेका थिए। नेपाली नागरिकको उद्धारमा भारत सरकारको सहयोगले नेपाली परिवार तथा समुदायमा सकारात्मक सन्देश पुगेको छ।
यस विषयमा नेपाल सरकारको औपचारिक प्रतिक्रिया आउन बाँकी रहे पनि, भारतीय पक्षबाट देखाइएको सक्रियताले इरानस्थित नेपालीका लागि जीवनरक्षक सहयोगको आशा बढाएको छ।







